दशैंमा घर जाने यात्रुको चाप बढेपछि उडान थप्दै हवाई सेवा प्रदायक कम्पनी

काठमाडौं– यात्रुको चाप बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरुले उडान सङ्ख्या थपेका छन् । बुद्ध एअर, श्री एअरलाइन्स, यति एअरलाइन्सले दशैंमा घर जाने यात्रुको सङ्ख्या बढेपछि उडान थपेको हो ।

बुद्ध एअरले भद्रपुर र भरतपुरमा समान दुई वटा उडान थप गरेको छ । अहिले विभिन्न गन्तव्यमा दैनिक दुईतर्फी एक सय ५० हाराहारी उडान गरिरहेको बुद्ध एअरले यात्रुको चाप बढेपछि उडान थपे गरेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

उता श्री एअरलाइन्सले पनि आजदेखि काठमाडौं–भरतपुर–काठमाडौं रुटमा उडान सञ्चालन गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। कम्पनीले शुरूमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ ।

यति एअरलाइन्सले पनि यही असोज १५ गतेदेखि काठमाडौं–भद्रपुर–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौं मा एक–एक उडान थपेको छ । यस्तै काठमाडौं–जनकपुर–काठमाडौं गन्तव्यमा एक उडान थपिएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिएका छन् । गत हप्ताको अबिरल वर्षाका कारण उपत्यकाबाट बाहिरी जिल्लामा जोड्ने अधिकाशं राजमार्ग अवरुद्ध छन् । राजमार्ग अवरुद्ध हुँदा अधिकाशं यात्रुहरु हवाई उडानमार्फत चाडबाड मनाउन घर फर्किरहेका छन।

Source : https://onlinetvnepal.com/2024/10/184554/