नेपाली गीतसंगीत धमाधम ग्लोबल ट्रेन्डिङमा
काठमाडौं । नेपाली गीत संगीत पनि पछिल्लो समय युट्युव च्यालनको विश्वभारको ट्रेन्डिङ सूची (ग्लोबल ट्रेन्डिङ)मा पर्न थालेका छ । युट्युले केही समय यताबाट संसारका उत्कृष्ट १०० गीतहरुलाई ग्लोबल ट्रेन्डिङमा राख्ने गरेको छ । यसै क्रममा बिगत तीन महिना यता नेपालका चार वटा गीत युट्युवको ग्लोबल ट्रेन्डिङमा परिसकेका छन् । यसरी ग्लोबल ट्रेन्डिङमा परेका गीतलाई सँसारभरका दर्शकले समेत हेर्ने र सुन्ने गरेका छन् ।
गायक सुशान्त केसीको पछिल्लो समय लोकप्रिय बनेको गीत ‘बार्दली…’ पनि आईतबार बिहानबाट युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङको ९३ औं स्थानमा परेको छ । सुशान्तकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा सुशान्तसहित निश्चल बस्नेत, स्वस्तिमा खड्का, सृष्टि श्रेष्ठ, इन्द्रकला राईलगायतको अभिनय छ ।
आफ्नो गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा प्रवेश गरेकोमा गायक सुसान्त केसीले खुसी व्यक्त गरेका छन । हामी पनि विश्वको गीत संगीतको सूचीमा पछिल्लो समय परिरहेका छौं भन्दै उनले यो नेपालीकै लागि खुसीको खबर भएको बताएका छन् । यतिबेला ९३ औं स्थानमा रहेको यो गीत बार्दलीलाई अझ माथिसम्म पु-याउनको लागि गीतको भिडियोलाई धेरै भन्दा धेरै हेरिदिन पनि सुसान्तले अपिल गरेका छन् । दर्शकको मायाँले आफ्नो गीत ग्लोबल ट्रेन्डिङमा परेकोमा उनले धन्यबाद ज्ञापन पनि गरेका छन् ।
सुसान्तको यो गीत दुई साता अघि रिलिज भएको थियो । रिलिज भएको दुई दिनमै यो गीत नेपालको युट्युव ट्रेन्डिङमा शिर्ष स्थानमा पुगेको थियो । लामो समय शिर्ष स्थानमा रहेपछि यो यतिबेला ग्लोबल ट्रेन्डिङमा उक्लेको हो । हालसम्म १ करोड ४२ लाखपटक यो गीतलाई युट्युवमा हेरिएको छ । छोटो समयमा यतिधेरै भ्युज पाएको र गीतसँगै भिडियो पनि गुणस्तरीय भएकोले बार्दली यतिबेला ग्लोबल ट्रेन्डिङमा पुगेको यी गायकको विश्वास छ ।
यो सहित यतिबेला युट्युबको ग्लोबल ट्रेन्डिङमा २ वटा नेपाली गीत रहेका छन् । डेढ महिना अघि युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको नेपाली चलचित्र खुस्माको रुकुम मैकोट….गीत अहिले पनि युट्युबको ग्लोबल ट्रेन्डिङमै छ । यो गीत अहिले पनि ग्लोबल ट्रेन्डिङको ६० औं स्थानमा रहेको छ ।
गीत ३ असोजमा रिलिज भएको चलचित्र खुमाको रुकुम मैकोट गीत ग्लोबल ट्रेन्डिङमा सबैभन्दा लामो समय रहने नेपाली गीत बनेको छ । यो गीत बिगट डेढ महिनादेखि ग्लोबल ट्रेन्डिङमा रहेको यसका निर्देशक अशोक थापामगरले बताएका छन् । दशैं तिहार सर्वाधिक बजेर नेपालको युट्युव ट्रेन्डिङमा समेत यो गीत लामो समयसम्म पहिलो नम्बरमा थियो । नेपाली ट्रेन्डिङबाट उक्लेर यो गीत ग्लोबल ट्रेन्डिङमा परेको हो । यो गीतको भिडियोमा धिरज मगर र उपासना सिंह ठकुरीले अभिनय गरेका छन् । एसडी योगी र शान्तिश्री परियारले गाएको यो गीतले दुई महिनामै ५ करोड ८८ लाख भ्युज पाईसकेको छ ।
यो चलचित्रले पनि राम्रो व्यापार गरेको थियो । यसको व्यापारमा रुकुम मैकोट गीतले पनि त्यत्तिकै सघाएका यसका निर्देशक अशोक थापामगरले बताएका छन्,‘नेपाली श्रोतादर्शकहरुले अझै पनि गीतलाई त्यत्तिकै रुचाउनु भएको छ ।’ निर्देशक थापामगरले भने । यो गीत ग्लोबल ट्रेन्डिङमा पर्नुको जस पनि उनले नेपाली दर्शकलाई नै दिएका छन् । गीतलाई नेपालबाट मात्र नभएर विश्व भरीबाट हेर्ने र सुन्ने गरिएको पनि उनले बताएका छन् ।
ग्लोबल युट्युव ट्रेन्डिङमा परेको पहिलो नेपाली गीत ‘कश्मीरे पछ्यौरी…’ हो । रिलिज भएको ६ महिनापछि बल्ल भाईरल भएको यो गीतलाई बुद्धिकृष्ण परियार र दीपिका बयम्बुले गाएका हुन् ।
यो गीतलाई हालसम्म ५ करोड ३१ लाख पटक युट्युवमा हेरिएको छ । गायक परियारका अनुसार रिलिज भएको ६ महिनासम्म यो गीतले मध्यम चर्चा पाईहरेको थियो । गीत टिकटकका कारण तीन महिना अघि एकाएक भाईलर भयो । त्यसपछि गीत यतिधेरै खोजियो की रातारात हिट भएको पनि गायक बुद्धिकृष्ण परियारले बताएका छन् । यो गीत युट्युव ग्लोबलमा केही समय रहेर अहिले सो ट्रेन्डिङबाट हटिसकेको छ ।
यस्तै छोटो समयमा सर्वाधिक बजेको अर्को गीत गायक हेमन्त शर्माको दशैंगीत ‘आउँथ्यो दशैं…’ पनि हो । यो गीत पनि यसपटक युट्युवको ग्लोबल ट्रेन्डिङमा प¥यो । गत दशैंमा रिलिज भएको यो गीतले एक महिनामा ९७ लाख ४४ हजार भ्युज पाएको छ । दशैंको लगत्तै युट्युवको ग्लोबल ट्रेन्डिङमा परेको यो गीत पनि सो ट्रन्डिङमा करिब एक हप्तासम्म रह्यो । यो गीत दशैंदेखि तिहार सकिँदासम्म पनि यसपटक निकै बज्यो । यो गीत हिट भएपछि कन्सर्टको लागि अष्ट्रेलिया पुगेका गायक हेमन्त शर्माले त्यहाँ कन्सर्टमा आफ्नो गीतमा बिदेशी समेत नाचेको बताएका छन् ।
यसरी नेपाली गीतसंगीत पछिल्लो समय ग्लोबल ट्रेन्डिङमा पर्नुलाई नेपाली संगीतकर्मीहरुले सुखद पक्ष मानेका छन् । संगीतको सीमा नहुने उनीहरुको कथन छ ।
The post नेपाली गीतसंगीत धमाधम ग्लोबल ट्रेन्डिङमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103965/