पुनर्मिलनमा बाजुरा आएका युएस नागरिकले दिएको सन्देश

सामान्यतया मानिसहरू आफ्नो वृद्धि विकासका लागि थातथलो छोडेर परदेशिन्छन् । हाम्रो नेपालमा हुनेखाने मध्यम वर्गका युवायुवतीहरू पढाइलेखाइका लागि शहर पस्छन् भने विपन्न मानिसहरू इन्डियाका कालापहाडदेखि दिल्ली, मुुम्बै शहरका चौकीदार र होटेल–रेस्टुराँ हुँदै मकान कुरुवासम्म देखिन्छन् । शहर पसेकाहरू उमेर हुर्केसँगै शहरबाटै विदेशतिर हानिन्छन् । रोजगार, पेसा, व्यवसायको सिलसिलामा उतै–उतै हराउँछन् ।

पछिल्लो समयमा रोजगारकै खोजीमा लाखौँ युवायुवती विदेशिन बाध्य छन् । खाडीमुलुकदेखि युरोप, अफ्रिका, अमेरिकालगायत विश्वका कुनाकुनासम्म नेपालीहरू छरिएका छन् । नेपालका अनमोल प्राकृतिक सुन्दरता र जैविक सम्भावनालाई चटक्क छोडेर विदेश बरालिनु नेपाली युवायुवतीको रहर हो वा बाध्यता ! पछिल्लो समय खोज तथा अध्ययनको सवाल बनेको छ।

विदेशिनेहरू पहाडका उकाली–ओराली गर्दै भीरपाखा सबै बिर्सिन्छन् । बा–आमा बिर्सिन्छन् । थातथलो, साथीसँगी सबै बिर्सिन्छन् । बाहरु नुन, तेल र लत्ताकपडाका लागि भरियाका रुपमा हाट जाँदा बास वसेका खुला चौर अनि घाम–पानीमा ओत लाग्दा बस्ने धर्मशाला बिर्सिन्छन् । पानी खाने ढुुंगेधारा बिर्सिन्छन्। औलको घट्ट, लेकको भैँसीखर्क बिर्सिन्छन्। आमाले भोक मेट्न दिएको सातु अनि रोटीको पोको फुकाएर नुनसँग घिटिक्क खाएको पनि बिर्सिन्छन् । गहुँ, भटमासका खाजा, ढुुंगेधाराको चिसो पानी र त्यसले मेटाएको पानी तिर्खा बिर्सिन्छन् । खोलामा तरेका फट्टिउला हुँदै तुइन (तांगुली) लडो तानेर ल्याएको मैदानी फलो (साँगु) बिर्सिन्छन् र बन्दै गरेका झुलंगे पुल पनि बिर्सिन्छन् । नभन्दै आफ्नो सबै थातथलो बिर्सिन्छन्, देश बिर्सिन्छन् । उतै विदेशतिर बरालिन्छन् ।

युवायुवती बिदेशिँदा गाउँघर भने रित्तिँदै छन् । खेत, कान्ला बाँझा हुन थालेका छन् । दशैँ, तिहारलगायतका चाडपर्वमा निस्याइलो हुन थालेको छ । सबै जम्मा भएर हातेपिङ खेल्ने चौर सुुशान्त छन् । हिजोका फट्टिउलाबाट अहिले झुुलंगेदेखि पक्की मोटरएबल पुल बनिसकेका छन् । हिजोका टोपी खस्ने उकाला चुचुरा छिचोलेर सडक बाटो बनिसकेको छ। गोलाहाटको नुन र सुन घरघरमा पुगेको छ । टनकपुर, हल्दुवानी नपुुगी नदेखिने जीप, बस अहिले त गाउँमा पुगेका छन्। कस्मिरी स्याउ, लालझाणीका केरा र सिम्लेपहाडमा पाइने दाँते ओखरदेखि आलु, प्याज, बन्दाकोपी र काउली गाउँमा फलेका छन्।

विडम्बना ! तर विदेशिएका युवा घर फिरेका छैनन् । बरु दिन–प्रतिदिन पासपोर्ट बनाउनेको लर्को बढेको छ। शहर पसेका तर पासपोर्ट नभएर विदेश जान नपाएका युवायुवतीहरु दशैँ, तिहारको अवसरमा घर आउँदा जिल्ला प्रशासनमा पासपोर्टको लाइन कुरेका छन् । उनका आमाबुबाहरु छोराछोरीलाई विदेश पठाउन ऋणका लागि गाउँगाउँ चहारिरहेका छन् । छोराछोरी विदेश पठाउन उनीहरूसँग सुक्को पैसा छैन । जग्गाजमिन बेचेर छोराछोरी पढायो, अन्त्यमा १२ कक्षा पास हुनेबित्तिकै विदेश सयर गराउनुु गाउँलेको दिनचर्या बनेको छ । यता रित्तो गाउँका घर धमिराले खाँदै छन् । उजाड बस्ती अनि सुनसान घरहरु छन् । धमिरिएको घरमा बसेका वृद्धवृद्धालाई एक लोटा पानी पिलाउने युवा मान्छे गाउँमा भेटिँदैनन् ।

सारा युवा परदेशिरहेको बेला एकजना युएस (अमेरिकन) नागरिक जेम्सम्यारी ब्राल्ली भने आफूले निर्माण गरेको पुल हेर्न ४७ वर्षपछि हालै युएसबाट बाजुराको भौनेरा पुगेका छन् । उनी ४७ वर्षपहिले आफूले निर्माण गरेको पुल २०७६ सालको बाढीले बगाएको सुन्दा निराश छन् । भौनेराको पुल, तत्कालीन स्वास्थ्य चौकी, तत्कालीन जुगाडा गाउँ पञ्चायत घर अनि भौनेर माझीगाउँको समुदाय हेर्न उनी आतुर थिए । इन्जिनियर ब्रान्ली पञ्चायतकालमा पिस्कोरबाट नेपालका दुर्गम बस्तीका संरचना निर्माण गरी मानिसलाई आवागमनमा सहजता ल्याएको सम्झन्छन् । उनी यहाँका अलौकिक र अपार सम्पदा सम्झन्छन् । यहाँको स्थानीय लवाइ, खवाइ र समुदायको मित्रवत् व्यवहार सम्झन्छन् । तत्कालीन समयमा अमेरिकाबाट नेपालको सुदूरपश्चिम नेपाल र डोटी, डडेलधुरा, अछाम हुँदै हप्तैको पैदल हिँडाइबाट बाजुरा पुगेको मानसपटलमा ताजा रहेको स्मरण जेम्स ब्राल्लीसँग छ ।

४० वर्षदेखि अमेरिकामा पर्यटन होटेल उद्योगमा लागेका ब्राल्ली पुनर्मिलन भन्दै दुई छोरा (४२ वर्षीय ब्रायन– आर्केटेक्ट इन्जिनियर र ३४ वर्षीय सिन जो ब्रान्ली– अमेकिन स्कुल प्रशासक) साथमा लिएर बाजुराको भौनेरा आइपुगेका थिए । ४७ वर्षअघि भौनेराको भूगोल अनि यहाँको समुदायले सिकाएको नेपाली संस्कारकै कारण आफूलाई इन्जिनियरिङ पेसा छोडेर पर्यटन व्यवसायमा तानेको मीठो अनुभव जिम्स ब्राल्लीको छ । बाजुराका विभिन्न सुन्दर ठाउँको फोटोफ्रेम बनाएर अमेरिकाको होटेलमा राखेको र त्यसले पर्यटकलाई आकषर्ण गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘यति मात्र हैन, मेरो होटेलमा आउने यात्रुुले एकपटक नेपाल भ्रमण गर्ने प्रण गर्छ ।’

अमेरिकनको व्यस्त जीवनशैलीलाई थाती राखेर दुुईवटै छोराले नेपालीको संस्कार, संस्कृति सिकून् र पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने अभिप्रायले सात समुद्रपारिबाट छोराहरुसहित फेरि नेपाल आएको हुँ’, उनले भने । ब्रान्ली अगाडि भन्छन्, ‘यो पुनर्मिलन हो, यसले हामीबीचको भाइचारा र विश्वबन्धुत्व भावना ओतप्रोत गर्छ । यति सुन्दर ठाउँ छोडेर बाहिर नजानुस् । तपाईंको यहाँ अथाह सम्भावना छ । तपाईं र तपाईंको सरकारको इच्छाशक्तिको कमी हो, आफ्नो देश तपाईं आफैँले बनाउने हो । ४७ वर्षसम्म घोडेटो बाटोबाट सामान्य कच्ची मोटरबाटो बनेछ । झन्डै ५० वर्षसम्म पनि विकासले गति नलिनु दुःखद कुरा हो ।’

‘तपाईं सुनको थालीमा हुनुहुन्छ तर त्यही थाली लिएर विदेशीसँग भिख माग्दै हुनुहुन्छ । यो राम्रो भएन । मैले पिस्कोर प्रोग्रामका माध्यमबाट पहिले पुल निर्माण गरेँ । अब तपाईं चाहनुहुन्छ भने म सत्यवादी मावि भौनेराको लागि स्कुल सपोर्ट गर्न चाहन्छु’, उनी बताउँछन् । ४७ वर्षअघि खिचेका फोटा प्रिजेन्टेसन गर्दै उनले भने, ‘यो त अत्यन्त सुन्दर र ब्युटिफुल प्लेस हो । मैले मिस गरेँ । त्यही भएर म पुनर्मिलनको लागि एकचोटि भौनेरा आइपुगेको हुँ ।’

बुबाको पालामा आएका जेम्स ब्रान्लीसँग ४७ वर्षपछि पुनर्मिलन भएकोमा खुशी व्यक्त गर्दै बडिमालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डम्मर महतले भने, ‘जेम्सलाई आफू बसेको ठाउँको यति माया रहेछ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल आउन चाहेको र स्कुललाई सपोर्ट तथा बाजुराको पर्यटन प्रवद्र्धनमा केही सहयोग गर्न चाहन्छु भनेकाले मैले आवश्यक चाँजोपाँजो मिलाएको हुँ’, अध्यक्ष महतले भने । उहाँबाट हामी र हाम्रा विदेशिएका युवायुवतीले धेरै कुरा सिक्नुपर्ने वडाध्यक्ष महतको भनाइ छ ।

समाजप्रेमी ब्रान्लीको परिवारलाई बडिमालिका–२ भौनेराका स्थानीय बासिन्दाले भव्य स्वागत गरेका थिए । उनीहरूले स्थानीय लोकदेउडा, हुड्के नाच, भुवाचाली अनन्ते खेल, धामीझाँक्रीलगायत दर्जनौँ स्थानीय कलासंस्कृतिको प्रस्तुति देखाएका थिए । बडिमालिका नगरपालिकाले विदेशी पर्यटन व्यवसायी वरल्लीको स्वागत गरेको थियो । स्वागत कार्यक्रममा वायल्ड बाजुराका अध्यक्ष मनोज रेग्मीले बाजुराका प्राकृतिक सम्पदा बडिमालिका, बुढिनन्दा, रानीशैनलगायत पर्यटकीय क्षेत्र र त्यहाँ पुग्ने गन्तव्यका बारेमा जानकारी गराएका थिए । बडिमालिका नगर उपप्रमुख नन्दा थापालगायतका स्थानीयले बरल्ली परिवारलाई मायाको चिनोसहित स्वागत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) मेघनाथ पाध्याका अनुसार युवा पलायन हुनेमा बाजुरा देशको नवौं अग्रस्थानमा पर्छ । बाजुरामा हरेक विकल्प हुँदाहुँदै पनि लहैलहैमा लागेर बढी पैसा/डलर कमाउने रहरले कतिपय युवा समूह नै विदेशिएका छन् । देशमा रोजगारीको सुनिश्चितता नभएसम्म युवा जनशक्ति विदेश पलायन भइरहनेछ, यो देशकै समस्या हो । सिडिओ पाध्या भन्नुहुन्छ, ‘बाजुरा जिल्ला अवसरै अवसरको जिल्ला हो । सदरमुकामबाट डेढ घण्टा उत्तरतिर लाग्यो भने मीठो स्याउ खान पाइन्छ । डेढ घण्टा पश्चिम लागे मीठो सुन्तला, कागती, फलफूल खान पाइन्छ । बाजुराको आलु देशकै ब्रान्ड बन्न सक्छ । इकडीदेखि कुवाडीसम्मको मार्सी ताइचन धान फल्छ । उच्च हिमाली भागको जडीबुटी संकलन नै गर्न सकेको छैन । पर्याप्त सिंचाइ सुविधा छ । बुढिगंगा र कर्णालीबाट अथाह जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना छ । कच्ची बाटो बाजुराका गाउँगाउँ पुुगेको छ । बाजुरामा भेडाबाख्रा फर्म, स्याउ फर्मलगायत जडीबुटी संकलन प्रशोधन केन्द्र खोल्न सके सयौं मान्छेलाई रोजगार दिलाउन सकिन्छ ।’

प्रमुख जिल्ला अधिकारी पाध्याले भने, ‘विडम्बना ! डलर कमाउने सोचले दिन–प्रतिदिन यसरी नेपाली युवा विदेशिने हुन् भने अबका केही वर्षमा युवाशून्य देश हुन्छ । युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर दिन सरकारले कठोर नीति लिनुपर्छ । विगतमा काम गरेकै आधारमा एकजना विदेशी नागरिक आएर हाम्रो समाजको संस्कार सिकेर लैजान्छ भने हाम्रा स्वर्ण सम्भावनालाई चिन्न नसकी लहैलहैमा विदेशिनेहरुलाई अमेरिकन पर्यटन उद्यमी ब्रान्लीले राम्रो सन्देश छोडेर गए ।’

Source : https://newsofnepal.com/2024/10/29/675797/