बहुआयामिक महत्त्वका द्विपक्षीय सम्बन्ध
वरिष्ठ पत्रकार एवं लेखक श्रीमन्नारायणको बहुआयामिक महत्वको ‘द्विपक्षीय सम्बन्ध’ नामक आलेख संग्रह पुस्तक हालै प्रकाशित भएको छ । मुलुकको आर्थिक र औद्योगिक नगरी वीरगन्जकै जेठो समाचारपत्र ‘प्रतीक’ दैनिकमा नेपाल–भारत सम्बन्धबारे प्रकाशित उनका आलेखहरुमध्ये करिब तीन दर्जन आलेखलाई समावेश गरी प्रकाशित १४६ पृष्ठको यो पुस्तक नेपाल–भारत सम्बन्धबारे नजिकबाट जान्न इच्छुक जो–कोहीको निम्ति पनि उपयोगी साबित हुन सक्छ ।
श्रीमन्नारायणले समसामयिक विषयमा निरन्तररुपमा कलम चलाउँदै आएका छन् । अन्तर्राष्ट्रिय सम्बन्धबारे पनि उनले धेरै नै लेखेका छन् । देशका प्रायः सबैजसो राष्ट्रिय दैनिक र अनलाइन सञ्चारमाध्यममा पनि उनका विचारहरु प्रकाशित हुँदै आएका छन् । नेपाल–भारत सम्बन्धबारे गहिरो जानकारी राखेका श्रीमन्नारायण स्वयं पनि तराई–मधेसका नागरिक भएका कारण दुवैतिरका जनताका समस्यालाई नजिकबाट देख्दै आएका छन् । इतिहासका पानामा नेपाल–भारतबीच के–कस्ता सम्बन्धहरु थिए, त्यसबारे मात्रै होइन, उनले जस्तोसुकै तीक्त बेलामा पनि द्विपक्षीय सम्बन्ध ब्रिगनुहुँदैन भन्ने मनसायले निरन्तर कलम चलाउँदै आएका छन् ।
विषम राजनीतिक परिस्थितिका बेला पनि सरकारलाई अप्रिय तर कटु सत्यबारे अवगत गराउन अलिकति पनि अन्यथा नमान्ने उनले आफ्नो यस पहिलो कृतिलाई सकभर संग्रहणीय र स्मरणीय बनाउने सार्थक प्रयास गरेका छन् । उनका प्रायः लेखहरुमा नेपाल–भारत सम्बन्ध प्रगाढ बनोस्, पारस्परिक बुझाइमा खलल नपुगोस् भन्ने हेक्का राखेको पाइन्छ ।
दुई देशबीचको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक एवं धार्मिक क्षेत्रमा बेलाबखत देखा पर्ने रुढ विषयवस्तुहरुलाई पनि सरल र सहज भाषामा प्रस्तुत गर्न सक्ने लेखकको गुणले यस पुस्तकलाई निश्चय नै पठनीय र संग्रहणीय बनाएको छ । ४५ वटा विभिन्न शीर्षकमा लेखिएका आलेखहरु मूलतः नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरुसँग सम्बन्धित छन् । विभिन्न समयमा दुवै देशका राष्ट्र र सरकार प्रमुखहरुको द्विपक्षीय भ्रमण, देश–देशबीच भएका सन्धि–सम्झौता र समझदारीहरुबाट दुवै देशले लिन सक्ने लाभको बारेमा उल्लेख भएको मानिन्छ । नेपाल–भारत सम्बन्धवारे बजारमा फैलाईएका भ्रमहरुलाई चिर्नमा पनि यो पुस्तक सहयोगी साबित हुनेछ ।
यस पुस्तकमा सनातन धर्म संस्कृतिका उत्तराधिकारी नेपाल र भारत मिलेर अगाडि बढेमा विश्वमै सनातन धर्म संस्कृतिको प्रभावलाई बढाउन सकिन्छ भन्ने मनसायले पनि कतिपय लेखहरु प्रकाशित भएका छन् । जगत्जननी जानकीको नगरी जनकपुर र मर्यादा पुरुषोत्तम श्रीरामको अयोध्याबीचको सम्बन्ध, भगवान् पशुपतिनाथ र काशी विश्वनाथ, भगवान् गौतम बुद्धको जन्मस्थली नेपालको लुम्बिनीदेखि उनले ज्ञान प्राप्त गरेका ठाउँ भारतको बोधगया तथा निर्वाण प्राप्त गरेको भूमि सारनाथबीचको सम्बन्ध, योग आदि क्षेत्रहरुमा नेपाल र भारतले एकै साथ मिलेर काम गर्नुपर्ने सुझाव पनि यस पुस्तकमा छन् ।
नेपाल–भारतबीच सधैँ चर्चामा आउने सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि, खुल्ला सिमानाको महत्व, सिमानाका विषय, ऊर्जा क्षेत्रमा नेपालले गरिरहेको प्रगति, नेपालमा वैदेशिक लगानीको अवस्था आदि विषयमा पनि समय–समयमा प्रकाशित भएका आलेखहरु समावेश गरिएका छन् ।
नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनहरु (वि.सं. २००७, २०४६ र २०६२-०६३) मा भारतले गरेको नैतिक एवं बलियो समर्थनका कारण नै नेपालमा निकै कम मूल्य चुकाएर शासन व्यवस्था परिवर्तन सम्भव हुन सक्यो । भारतको स्वतन्त्रता आन्दोलनमा पनि नेपालीहरुको सहभागिता थियो । यस पुस्तकमा नेपाल–भारत सम्बन्धका राजनीतिक पार्टीसहित कतिपय महत्वपूर्ण सन्दर्भलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।
राष्ट्रिय समाचार समिति, प्रेस काउिन्सल नेपाल तथा गोरखापत्र नेपाली राष्ट्रिय दैनिकमा भूतपूर्व अध्यक्ष, देशका वरिष्ठ पत्रकार, लेखक एवं लोकतन्त्र तथा पत्रकारिता सेनानी माथवरसिंह बस्नेत तथा प्रतीक दैनिकका प्रधान सम्पादक र वरिष्ठ पत्रकार जगदीश शर्माले यस पुस्तकको बारेमा आफ्नो मन्तव्य लेखेका छन् । तराई र पहाडलाई जस्तै नेपाल र भारतका सीमावरिपरिका जनताका व्यथा र कथालाई जोड्ने पुलको काम पनि लेखकले गरेका छन् । दुई देशका जनस्तरका सम्बन्धका विधि पक्षलाई थप घनिष्ट तुल्याउने समृद्ध परम्परालाई निरन्तरता प्रदान गर्नमा लेखक सफल भएका छन् ।
विश्वको पाँचौँ ठूलो अर्थव्यवस्था बनेको भारतले सूचना र सञ्चारका क्षेत्रमा विश्वलाई नै प्रभावित गर्ने गरी विकास र प्रगति गरेको छ । विज्ञान, अन्तरिक्ष अनुसन्धान, कला, संगीत र साहित्यको क्षेत्रमा पनि भारतले ठूलो प्रगति गरेको छ । नेपालले पनि छिमेकी भएका नाताले सोही मात्रामा विकास र प्रगति गर्न सक्नुपर्दथ्यो तर त्यस्तो हुन सकेन, आखिर किन ? यसबारे पनि किताबमा उल्लेख भएको पाइन्छ ।
दुई देशका सर्वसाधारण जनताले झेल्नुपरेका दैनिक समस्यालाई प्रमुखताका साथ उठाउनुका साथै दुवै देशका स्थानीय प्रशासनलाई पनि ध्यानाकर्षित गराउन यो पुस्तक सहयोगी साबित हुनेछ । सबै प्रकारका सुविधा उपलब्ध हुँदाहुँदै पनि त्यसको लाभ जनस्तरसम्म किन पुग्न सकेन ? यसबारे पनि पुस्तकमा उल्लेख भएको पाइन्छ । यो आलेख संग्रहको प्रकाशनले त्यस्ता समस्याको बोध सबैलाई गराउन समर्थ मात्रै भएको छैन, नीति निर्माताहरुलाई त्यस्ता अप्ठ्यारा हटाउन सहयोग पु¥याउने अपेक्षासमेत राख्न सकिन्छ ।
नेपाल–भारत सम्बन्धमा निकट अतीतमा प्रकाशित समसामयिक लेख, टिप्पणी र विश्लेषणहरु समावेश भएको सङ्ग्रहका रुपमा पुस्तक प्रकाशित गरेर लेखकले नेपाल र भारतका विषयमा खोज एवं अनुसन्धान गर्न चाहनेहरुलाई प्रशस्त सामग्री जुटाइदिएका छन् । तीन सय रुपियाँ मात्रै मूल्य राखिएको यो पुस्तक नेपाल–भारत सम्बन्धबारे अध्ययन गर्न चाहने जो–कोहीका निम्ति उपयोगी साबित हुन सक्छ । यस पुस्तकबाट दुवै देशका नयाँ पुस्ताले लाभ उठाउन सक्ने विश्वास व्यक्त गर्न सकिन्छ ।
प्रतीक प्रकाशन समूहमा मुद्रण भएको यस पुस्तकको छपाइ पनि स्तरीय देखिन्छ । आवरणमा दुवै देशको राष्ट्रिय झन्डा अंकित रहेको छ । मित्रताका हातले पुस्तकलाई थप आकर्षक बनाएको छ । पुस्तकका लेखक श्रीमन्नारायणले उल्लेखनीय काम गरेका छन् ।