बौद्धिक चोरीबारे के छ कानुनी व्यवस्था?

अरूको सामग्रीलाई आफ्नो भनी चोरी गर्ने कार्यलाई बौद्धिक चोरी भनिन्छ। कसैले जानीजानी र कसैले अन्जानमा बौद्धिक चोरी गरिरहेका हुन्छन्। अन्य व्यक्तिको लेख रचना सार्नु, इन्टरनेटमा आएका सामग्रीलाई आफ्नो हो भनी चोरचार गर्नु, पुस्तक, लेख, रचना, विभिन्न अध्ययन अनुसन्धान गरी तयार पारिएको अरूको जर्नलबाट सार्ने काम गर्न बौद्धिक चोरी हो।

त्यतिमात्र होइन, लापरबाही ढंगले अर्काको लेख रचनालाई पुनर्लेखन गर्नु पनि बौद्धिक चोरी हो। बौद्धिक चोरी लेख रचनामा मात्र लागू हुँदैन। कसैले तयार गरेको लेखनीय र अन्य विद्युतीय सामग्रीलाई आफ्नो भनी चोरी गर्ने गरिन्छ भने त्यो पनि बौद्धिक चोरी हो। त्यसैले अरूको लेख रचना प्रयोग गर्दा उपयुक्त तरिकाले स्रोत उल्लेख गर्नुपर्छ। उद्धरण गर्ने, अरूको सामग्री राम्रो लागेर आफ्नो लेख रचनामा प्रयोग गर्न मनलागे सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्नुपर्छ।

कानुनी व्यवस्था

नेपालको संविधानको धारा २५ मा बौद्धिक सम्पत्तिलगायत अन्य सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने अधिकारको व्यवस्था गरिएको छ। त्यस्तै प्रतिलिपि अधिकार ऐन, २०५९ ले किताब, पर्चा, लेख, शोधपत्र, नाटक, गीत, सङ्गीत, श्रव्य दृश्य रचना, आर्किटेक्चरल डिजाइन, चित्रकला, पेन्टिङ, मूर्तिकला, काष्ठकला, फोटोजन्य रचना, वैज्ञानिक लेख रचना, कम्प्युटर प्रोग्रामलगायत सिर्जनालाई रचना भनी परिभाषित गरेको छ।
सोही ऐनको दफा २७ ले यस्ता रचना अनुपयुक्त तरिकाले प्रयोग गरेमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार १० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

सोही कार्य दोस्रो पटकदेखि पटकैपिच्छे २० हजारदेखि २ लाख रुपियाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ। यस्ता रचना प्रकाशन वा पुनरुत्पादन वा वितरण गरेको वा पुनरुत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरू जफत हुनेसमेत व्यवस्था छ। यसबाहेक यस्तो कार्य गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्तिसमेत भराई दिनुपर्ने व्यवस्था छ।

Source : https://newsofnepal.com/2024/09/23/669561/