भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो

काठमाडौँ । बागलुङमा यस वर्ष ढिलोगरी मुस्ताङी च्याङ्ग्रा भित्रिएको छ । आइतबार ११ दिनको यात्रापछि मुस्ताङका च्याङ्ग्रा किसान छ्याक्तो गुरुङ र छेक्तेन गुरुङले बागलुङमा १०४ वटा च्याङ्ग्रा ल्याएका थिए ।
तीन दिनअघि बागलुङका च्याङ्ग्रा व्यापारी महेन्द्र केसीले ७४ च्याङ्ग्रा भित्र्याएका थिए । मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढेको हो । एक सय चार वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेको छ्याङ्तो गुरुङले बताए । मुस्ताङको लोमान्थाङ गाउँपालिका-१ छोसेरबाट ११ दिन लगाएर बागलुङमा च्याङ्ग्रा ल्याएको गुरुङको भनाइ छ ।
गत वर्ष रोज्जा च्याङ्ग्रालाई रु ५५ हजारमा बिक्री गरेको बताउँदै यो वर्ष रु ४५ हजारमा बिक्री गरिरहेको बताए । ‘छोसेरबाट हिँडेर ११ दिनमा बागलुङ आइयो, बाटोमै ५० च्याङ्गा बिक्री भइसके, अझै ५४ च्याङ्ग्रा रहेका छन्, अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फष्टाएको छ ।’, गुरुङले भने, ‘परम्परागतरुपमा पाल्दै आएको च्याङ्ग्रा बिक्रीका लागि आफैँ बिक्री गर्दै आएको छु, आफैँ च्याङ्ग्रा उत्पादन र आफैँ बिक्री गर्दा नाफा धेरै हुन्छ ।’
कोसेलीका लागि र दसैँमा च्याङ्ग्राको मासु खाने चलनका कारण मुस्ताङको च्याङ्ग्रा बिक्रीका लागि म्याग्दी, बागलुङ, पर्वत हुँदै पोखरासम्म पुग्ने गरेको छ । च्याङ्ग्राको मूल्यमा १० देखि १५ हजारसम्म घटेकाका कारण चाँडो व्यापार भएको च्याङ्ग्रा व्यापारी छेक्तेन गुरुङले जानकारी दिएका छन् ।
बागलुङमा महेन्द्र केसीले भित्र्याउनुभएको ७४ च्याङ्ग्रामा १६ वटा बिक्री भइसकेको बताए । गत वर्ष च्याङ्ग्राको व्यापार घट्दा यस वर्ष बागलुङका थोरै च्याङ्ग्रा व्यापारी बागलुङबाट मुस्ताङ पुगेर च्याङ्ग्रा खरिद गरेको केसीले जानकारी दिएका छन् । च्याङ्ग्राको माग उच्च भएको र आयात थोरै हुँदा भाउ महङ्गो भएपछि यस वर्ष केही सस्तो भएको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले दसैँमा भेडाच्याङ्ग्रा खोज्ने केसीले जनाएका छन् ।

Source : https://arthasarokar.com/2024/10/chyangra-6.html