राजविराज महोत्सव सुरु

राजविराज । सांस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रबद्र्घन गर्नका लागि राजविराज महोत्सव २०८१ विहिबारबाट सुरु भएको छ । राजविराजको राजरंगशालामा सुरु भएको महोत्सवको राजविराज नगरपालिकाका कार्यावाहक नगरप्रमुख ईसरत प्रविणले उदघाटन गरे ।

त्यस अवसरमा उनले महोत्सवले सांस्कृतिक, पर्यटन, कृषि, व्यापार प्रबद्र्घन र आर्थिक समृद्घिका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरिन । उनले महोत्सवमा उदेश्यअनुसारको कार्यक्रमहरु गर्न आयोजकलाई सुझाव समेत दिए ।

महोत्सव मुल आयोजक समारोह समितिका अध्यक्ष चितरंजन यादवको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिव नारायण साह, एमालेका जिल्ला सचिव देवनाथ यादव, उपसचिव अखिलेस झा, जसपाका जिल्ला अध्यक्ष केदार यादव, लोसपाका जिल्ला अध्यक्ष सुनिल झा, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज सूर्य नाथ यादव, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र शर्मा, आम जनता पार्टीका केन्द्रिय सदस्य सुनिल राज दास, राष्ट्रिय मुक्ति पार्टीका जिल्ला संयोजक दिपेन्द्र चौधरी, नेपाल युनाईटसका अध्यक्ष मो. जियाउल रहमान लगायतको उपस्थिति रहेको थियो ।

ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा सुरु भएको महोत्सवमा स्थानिय स्तरका विभिन्न कृषि उत्पादन, घरेलु उद्योगबाट उत्पादित बस्तु, हस्तकला लगायतका सरसमान बिक्री हुने ४० वटा स्टल राखिएको छ । महोत्सवमा बालबालिकाका लागि वाल उद्यान र युवाहरुको मनोरंजनको लागि विभिन्न खेल तमासा र सांस्कृति कार्यक्रमको आयोजना गरिएको आयोजक संस्था ड्रिम नेपाल युवा संघ सप्तरीका अध्यक्ष कमल किशोर साहले बताए ।

महोत्सवमा मैथिली चित्रकला प्रदर्शनी पनि आकर्षणको केन्द्र बन्ने र ५ वर्ष मुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । कार्तिक २५ गते सम्म चल्ने महोत्सवमा आन्तरिक तथा बाहय गरी १ लाख भन्दा बढी पर्यटकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

महोत्सव स्थलमा कुनै खाले अप्रिय घटना हुन नदिन निगरानीका लागि १५ वटा सिसि टिभी क्याम्रा जडान गरिएको आयोजनकले जनाएको छ ।

The post राजविराज महोत्सव सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103061/