संयोगको कथामा उजेलिका निर्देशकको मिसिङ : केटी हराएको सूचना

काठमाडौं ।

आगामी कातिक ३० गते रिलिज हुने फिल्म मिसिङ : केटी हराएको सूचनामा समावेश गीत हेर्दै जाउँ आइतबार सार्वजनिक गरिएको छ।

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गीत रोहित जोन क्षेत्री र शितुसित बस्नेतले गाएका छन् भने शब्द रचना र संगीत दीपेन्द्र गौचनको रहेको छ। गीतले संयोगवश अचानक भएको भेट, बिनाठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको युवक र युवतीको कथा बोलेको छ।

जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित नरहेको भावमा गीत पोखिएको छ। जिन्दगीको उत्तराद्र्धमा पुग्दा पनि यथार्थमा जिन्दगी के हो भन्ने थाहा नहुने गरेको भन्दै बीचमा आउने दुःख, हासो, घाम र छाया, मिलन तथा बिछोड किन भन्ने प्रश्न गरेको गीतले गरेको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ। दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखाइएको छ। पोष्ट प्रोडक्सनमा रहेको फिल्मको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा उजेली निर्देशन गरेर वाहवाही कमाएका निर्देशक दीपेन्द्र गौचनले गरेका छन्।

निर्देशक गौचनकै निर्माण र लेखन रहेको फिल्ममा नाजिर र सृष्टिका साथमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायतले अभिनय गरेका छन्।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा अतिरिक्त लेखन अमित पोखरेल र अमितेष शाह, कोरियोग्राफी राजीव कर्ण, द्वन्द्व निर्देशन शंकर महर्जन, छायाँकन अमर महर्जन र सम्पादन निमेष श्रेष्ठको रहेको छ।

Source : https://newsofnepal.com/2024/09/23/669433/