सम्यक व्यायाम र जीवन
लिच्छवि, मल्ल, शाहकालदेखि हालको गणतन्त्रात्मक राज्य प्रणालीहरुको लिखित इतिहासको केही अध्ययनमा पनि राज्य र नागरिकहरु जहिले पनि एक–आपसी अन्तरद्वन्द्वी र प्रतिस्पर्धी नै हो कि भन्ने भान हुन्छ । राज्य व्यवस्थाले जनताको इच्छा, आकांक्षा परिपूर्ति गर्न नसक्नु यथार्थ हो ।
त्यसलाई मलजलको रुपमा जनताको सोझोपनलाई भजाएर फेरि विभिन्न गुट, समूहदेखि दलगत प्रोपोगण्डा अथवा एक पक्षको कमजोरीको नाममा जनतालाई मूर्ख बनाउने खेलहरुको निरन्तरतासिवाय अरु केही देखिएन । शायद यो मानवीय इतिहासमा मुख्र्याइँको बलियो प्रमाण नै हो । केही दशकअघिको नेपालको मात्र कुरा गर्ने हो भने पनि राणाकालविरुद्ध प्रजातन्त्र, प्रजातन्त्रको विफलपछिको पञ्चायती व्यवस्था, पुनः पञ्चायती व्यवस्थाको विरुद्ध २०३६ र २०४६ को आन्दोलन तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना र २०५१ देखि ०६२।६३ सम्मकोे आन्दोलन, गणतान्त्रिक संविधानको घोषणापश्चात् पनि यस्तै छलकपट, जनता गुमराह बनाउने खेलसिवाय अरु केही भएको अनुभूति गर्न सकिने ठाउँ देखिँदैन ।
यो वर्षको मनसुनले निम्त्याएको विकराल अवस्था, जनधनको अपूरणीय क्षति, यातायातमा कष्टपूर्ण यात्राको बाध्यात्मक अवस्था, चाडपर्वको माहौलमा कैयौँ परिवारको बिचल्ली पूर्ण अवस्थामा व्यक्ति, समूह तथा राज्य प्रणाली नै निरीह देखा परेको यथार्थलाई स्वीकार गर्न शायद कठिन नहोला ।
समाज, विश्वको भयावह अवस्था हुनुमा शारीरिक स्वास्थ्यभन्दा मानसिक अस्वस्थताको बाहुल्य भएको स्वीकार गर्न शायद बहुमत जनतालाई अपाच्य हुन सक्छ । करिब सय वर्षको नेपालको सामाजिक सोचको अवस्था लिएर ऐश्वर्यलाल प्रघानाङ्गले ‘मेरो दैन्दिनी’ मा लेख्नुभएको वाक्य निकै मर्मस्पर्शी तथा त्यस्तै अवस्थाको निरन्तरता नै वर्तमान हो भन्नुमा कुनै आपत्ति नहोला । उहाँ लेख्नुहुन्छ, ‘राज्यले जनतालाई जति सक्यो लुट्ने, जनताले राज्यलाई जति सक्यो उति ढाँट्ने’ हो ।
अमूर्त राज्य प्रणालीलाई दोष दिएर व्यक्तिहरु आफू त चोखिन सक्दैनन्, बरु राज्य प्रणालीको मजबुत व्यवस्थाको लागि प्रत्येक व्यक्तिले के–कस्तो कर्तव्य र जिम्मेवारी निर्वाह गर्नुपर्ने हो, त्यतातर्पm बहसको औचित्य हुन सक्छ । संसारमा विभिन्न नाममा किसिम–किसिमका शारीरिक व्यायामहरु प्रचलनमा आइरहेको तर मानसिक व्यायामको चर्चा–परिचर्चा नहुनु निश्चय पनि कहाली लाग्दो अवस्था मान्न सकिन्छ । व्यक्तिको स्वच्छता, स्वस्थताको मापदण्ड शारीरिक तथा मानसिक दुवै भएकोमा शंका नहोला । आज संसारमा शारीरिक स्वस्थताको लागि जति चर्चा–परिचर्चा भएको पाउँछौँ, मानसिक स्वास्थ्यतर्फ जोड दिएको कमै मात्रामा पाउन सकिन्छ । आजको अवस्थामा व्यक्तिहरुका लागि मानसिक व्यायाम, कसरत, सम्यक व्यायामको अति जरुरी छ।
‘सम्यक व्यायाम भन्नाले शारीरिक कसरतझैँ चित्तद्वारा गर्ने चार प्रकारका व्यायामलाई जनाउँछ । चित्तमा खराब कुरा आएको छ भने त्यसलाई हटाउने प्रयास गर्नु, खराब कुरा छैन भने त्यसलाई आउन नदिनु, चित्तमा राम्रा कुराहरू आएका छन् भने त्यसलाई बढाउने प्रयास गर्नु र अन्त्यमा चित्तमा राम्रो कुरा आएको छैन भने राम्रो कुरा ल्याउने प्रयास गर्नुलाई नै सम्यक व्यायाम भनिन्छ ।
यो सम्यक व्यायाम व्यक्तिहरुको निजी जीवनदेखि संगठन, आयोजना, राज्यका विभिन्न संयन्त्रमा आवश्यक छ । कुशल कार्य गर्ने, अभिवृद्धि गर्ने, अकुशल कार्य भइरहेको भए बन्द गर्ने/गराउने, अकुशल, अहितकारी कार्य नगर्ने/नगराउने प्रण नै आजको समाज तथा विश्वको लागि अपरिहार्य भएको छ । अमूर्त प्रशासन, राज्यलाई चलाउने व्यक्तिहरुले यो व्यायामरुपी कार्य गरेमा देश विकास हुन कति बेर लाग्ला र ?
मिडियाहरुमा विभिन्न कमजोरीहरु देखाउने, संघसंस्थाको परिसरभित्रै पनि हुलहुज्तत, नाराबाजी आदि गरिरहने जुन प्रवृत्ति देखा परेको छ, त्यसलाई पनि राम्रो मान्ने वा नराम्रो मान्ने बहसको विषय हुन सक्छ । एक–अर्कालाई गाली गरेर, कमी–कमजोरी देखाएर, आ–आफ्नो डम्फु बजाउने प्रवृत्ति स्वयं सम्यक व्यायामको विपरीत क्रियाकलाप नै हो । कतै प्रचारप्रसारको माध्यम बनाई आफ्नो दु्नो सोझ्याउने कार्य वा अझ थप पीडादायी व्यक्तिलाई थप पीडा दिने माध्यम त भइरहेको छैन ? वास्तविक समस्याको पहिचान र समाधानतर्फ सबै संगठनले कुशल कार्य गर्ने, खराब कार्य नगर्ने, समस्या आउन बन्द गराउनेतर्फ अग्रसर हुनसमेत यो व्यायाम, अनुसन्धानको औचित्य पक्कै बढेको छ । सबै निकायका संंघसस्थाहरुले आ–आफनो संगठनको लक्ष्य अनुकूल भएको कार्य भइरहेको वा नरहेको, लक्ष्य विपरीत भइरहेको कार्यलाई बन्द गर्ने/गराउने खालको योजना सृजित गर्नु पनि आजको लागि सम्यक व्यायामको परिचय हुन सक्छ ।
व्यक्तिहरुले कुनै पनि कार्य गर्नुअघि कतै यो कामबाट अरुलाई हानि हुन्छ वा हुँदैन वा कतै यो कार्य अकुशल त होइन ? भन्ने सोच्नुपर्छ । व्यक्तिहरुको आफ्नो जीविकाको लागि गर्ने आयआर्जनका विभिन्न माध्यमहरु यदि शुद्ध आजीविका हो वा होइन, यदि होइन भने त्यसलाई पनि त्याग्नुपर्ने अठोटका लागि सम्यक व्यायामको जरुरी छ । यसको अभावमा समाज, राज्यमा भइरहेको भ्रष्टाचारको अन्त्यको परिकल्पना पनि व्यर्थ नै हुन्छ । सवाल यो हो कि भ्रष्टाचार पूर्णरुपमा निर्मूल गर्न कठिन नै भए पनि न्यूनीकरणका लागि पनि यो सम्यक व्यायामको प्रभावकारिता हुने निश्चित प्रायः छ ।
कुशल र अकुशल कार्यमा भेद, विभाजन गर्न सहज कदापि हुँदैन । आफूलाई वा आफ्नो समूहको स्वार्थजन्य कार्यलाई राम्रो मान्ने अथवा अरुहरुको हकहित दिनुपरेमा नराम्रो कार्य मान्ने ? यसमा व्यक्तिगत स्वच्छता, संगठनको लक्ष्यप्रति तत्परतासहित कार्य गर्ने कर्मचारी संयन्त्रको मनोबल के कस्तो छ, त्यसले पनि निर्धारक भूमिका खेल्ने स्वतसिद्ध छ ।
आफूलाई मन परेको कुरा कुशल नै हुनुपर्ने भन्ने छैन, बरु अकुशल कार्य भइरहेको हुन सक्छ । यसको विपरीत आफूलाई मन नपरेका कैयौँ प्रसंग कुशल कार्य हुन सक्छ । यो भेद पत्ता लगाउन पनि मानसिक कसरत, अध्ययन, अनुसन्धानको जरुरत हुन्छ नै । आज सामान्यरुपमा पनि व्यक्तिहरुले आफूसँग भएको अकुशल कार्यहरु हटाउन तथा कुशल कार्य गर्न ठूलो धैर्य, बलको आवश्यकता चाहिन्छ । त्यसै गरी आफूसँग नभएको अकुशल कार्य आफूमा प्रवेश नगराउन तथा आफूसँग भएको कुशल कार्यको अभिवृद्धिका लागि पनि बल, मेहनतको आवश्यकता हुन्छ नै ।
संसारमा भइरहेका विभिन्न भय, डर त्रासदेखि युद्धको अवस्थाहरु यस्तै मानसिक व्यायामको अभावमा भइरहेका हुन् । यस्ता प्रवृत्तिमा नियन्त्रण नभएसम समाज, विश्वमा शान्ति, अमनचैनको कामना गर्नु पनि व्यर्थ नै हुनेछ । आज समाजको अशान्ति, द्वन्द्व, घात–प्रतिघात, जय–पराजय, दण्ड, आरोप–प्रत्यारोपको विद्यमान अवस्था वास्तवमा समाजको परिचय मात्र होइन, अपितु व्यक्तिहरुको पहिचान तथा अनुहार नै हो ।
राणाकालको अन्त्यतिरको देश समाजले चाहेको, देखाएको लालसा, २०१७, २०३६, २०४६, २०६२।६३ तथा संविधान घोषणापश्चात् पनि एक–आपसी छलछाम, आशक्ति देखाउनेहरुको नै प्रभुत्व हाबी भएको निश्चित छ । यसरी जनता पटकपटक कुनै न कुनै समूह, दल, मोर्चाको आशक्तिको सिकार भई नै रहनुपर्ने यो कस्तो नियति हो ? यसो त कसैको नियत शुरु–शुरुमा खराब तन्त्रविरुद्ध सुशासन, जनताको चासो नभएको पनि होइन तर कालान्तरमा फेरि आफैँ लक्ष्यबाट विमुख भई जाने, फेरि अर्को शक्ति उदाउने, बिलाउने आदि क्रमकै निरन्तरतामा व्यक्तिहरुले एकको विकल्पमा अर्को शक्तिको आशा गर्नु, आशक्ति गर्नु पनि निकै विडम्बनापूर्ण अवस्था नै मान्न सकिन्छ ।
सञ्चारका विभिन्न माध्यममा विभिन्न वर्ग, उमेर समूहदेखि युवावर्गको विभिन्न आक्रोश, कुण्ठाहरु देख्न, पढ्न पाइरहेको अवस्था हो। यसमा पनि आखिरमा एउटाको विकल्प अर्को समूह, अर्को वर्ग, युवा समूह आदिकै मात्र आशरुपी आशक्तिबाहेक वास्तविक समस्याको पहिचान र समाधानको उपायहरुको चर्चा नभएको अवस्था नै मान्न सकिन्छ । शारीरिक र मानसिक बल, स्वस्थताको कुरा भनौं वा मानसिक व्यायामको प्रसंग र चर्चा गरेको विरलै देखिन्छ । आखिरमा समाजमा आजको विकराल अवस्थाको मूल कारण मानसिक अवस्थालाई मान्न सकिन्छ कि सकिँदैन ?
भगवान् बुद्धले करिब २६ सय वर्षअघि दिनुभएको सन्देश, सूत्र निपातको अष्टवर्गको अत्तदण्डमा उल्लेख भएको ‘यहाँ संसारमा आशक्तिजनक धेरै शिक्षाहरू दिनेछन्, त्यसमा नलाग, व्यक्तिहरुलाई आफ्नो मुक्तिको लागि प्रयास गर’ भनिदिनु भनेको शिक्षाको महत्ता आजको समाजमा झन् बढी सिद्ध भएको छ । यसै गरी कालामहरुलाई दिनुभएको उपदेश मानव इतिहासमा स्वतन्त्र चिन्तनको महान् घोषणाको रुपमा लिन सकिन्छ । कालामहरुलाई दिनुभएको उपदेशहरु यस्ता छन्– ‘तिमीहरूले कुनै कुरा यसैले ग्रहण नगर्नु कि हामीले यसलाई यसरी सुन्दै आएका हौँ वा यो हाम्रो परम्परागत मान्यता हो, जुन पीढियौँदेखि चल्दै आएको छ । यसैले मात्र ग्रहण नगर कि यो हामीले जहिले पनि सुन्दै आएका छौँ वा यो हाम्रो धर्मग्रन्थअनुरूप छ । यसैले मात्र ग्रहण नगर कि यो तर्कसंगत छ वा न्यायसंगत छ । यसैले मात्र ग्रहण नगर कि हामी यो मान्यताप्रति आशक्त भयौँ वा यो उपदेश दिनेको व्यक्तित्व भव्य छ । यसैले मात्र ग्रहण नगर कि यो उपदेश दिने श्रमण हाम्रो गुरु हो, पूज्य हो ।’
भगवानु बुद्ध फेरि भन्नुहुन्छ, ‘तिमीहरु आफ्नो स्वअनुभूतिबाट जान कि यो धर्म उपदेश कुशलकारी हो, निर्दोष हो, अनुभवी, समझदार व्यक्तिबाट प्रशंसित छ र स्वयं जान कि सम्पूर्णतया ग्रहण गर्नबाट यो सर्वहितकारी छ, सुखकारी छ, तब यसलाई ग्रहण गरेर जीवनमा उतार ।’
एउटा पक्षसँग विरक्तिएर अर्को पक्षको नाराबाजी, उद्घोषमा पछि लाग्नु, कुनै व्यक्ति वा समूहप्रति आशक्ति भएर आइरहेको निरन्तर मानवीय जीवनको कडी नै हो । विगतमा पनि कसैको आशक्तिपूर्ण नाराको पछाडि लागेकोमा आज त्यसको विरोध गरी अर्को पक्षमा लाग्नुझैँ भविष्यमा फेरि अहिलेको आशा गरेको व्यक्ति, समूहको विरुद्ध पनि आक्रोश नहोला भन्न सकिँदैन । वस्तुतः व्यक्तिहरुले आशक्तिको कामना गर्नु नै आफ्नो स्वच्छताको बारे दिग्भ्रमित हुनुको पर्याय हो । आजका ज्येष्ठ नागरिकहरुले पनि यस्तै कामनामा भुलेर आएको यथार्थ हो भने यस्तै–यस्तै आशक्तिहरुको कडीबाट समाजमा अमनचैन नहुने प्रस्ट हुन्छ ।
आज समाजमा जलिरहेको आगोमा थप ज्वलनशील पदार्थ, इन्धन वा रासायनिक पदार्थ हाल्नुको साटो भइरहेको घाउमा मलहम पट्टीरुपी शान्ति, सुव्यवस्थाका लागि सबै व्यक्तिले सेवामुखी भई यसका निम्ति विशेष पहल गर्नु आजको आवश्यकता हो । यो कार्यका लागि सम्यक व्यायामको विकल्प शायद अरु नहोला ।
अतः वास्तविकरुपमा व्यक्ति, समाजको हकहितको लागि आशक्तिजनक शिक्षाको पछाडि नलागी, व्यक्तिहरुलाई आफ्नो मुक्तिका लागि प्रयास गर्न सम्यक व्यायाम अति उत्तम व्यायाम भएकोमा शंका छैन। यो सम्यक व्यायाम नै वास्तवमा व्यक्ति स्वयंको कल्याण तथा समग्ररुपमा समाजको शान्ति सुव्यवस्थाका लागि बलियो आधार र मार्ग हुनेमा शंका छैन।
(लेखक चित्रकार नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक हुनुहुन्छ ।)