१२ राजाका १४ शासनकाल
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए भने गीर्वाणयुद्धविक्रम शाहको पालामा नेपाल अंग्रेजयुद्ध र नेपाल सुगौली सन्धिमा हस्ताक्षर भएको थियो। राजा त्रिभुवन वीरविक्रम शाह राणा शासनको अन्त्य गर्दै शक्तिमा आएका थिए। त्यस्तै, महेन्द्र वीरविक्रम शाहले निर्दलीय पञ्चायतको सुरुवात गरेका थिए। वीरेन्द्रले देशलाई संवैधानिक राजतन्त्रात्मक मुलुक बनाएका थिए। नेपालका अन्तिम राजा बन्न पुगेका ज्ञानेन्द्र शाहको पालामा राजतन्त्रको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो।
नेपालमा विसं १८२५ देखि २०६५ सालसम्म १२ जना शाहवंशीय राजाले शासन गरे। बुबा नरभुपाल शाहको मृत्युपछि विसं १८०० मा तत्कालीन श्री ५ बडामहराजधिराज पृथ्वीनारायण शाह गोरखा राज्यको सिंहासनमा पुगेका थिए।
विभिन्न बाइसे चौबिसे राज्यमा विभाजित मुलुकलाई एकीकरण गर्ने क्रममा विसं १८०१ मा नुवाकोटमाथि आक्रमण गरी एकीकरणको शुरू गरेर विसं १८२५ मा इन्द्रजात्राका दिन कान्तिपुरमा विजय हासिल गरेसँगै पृथ्वीनारायण शाहले आधुनिक नेपालको स्थापना गरेका हुन्।
त्यसपछिका विभिन्न कालखण्डमा शाहवंशीय राजाले नै राजकाज गरिरहे। विसं १९०३ देखि २००७ सालको क्रान्तिसम्म देश जहानिया राणा शासनको नियन्त्रणमा रहेको थियो। २०४६ सालको जनआन्दोलनपछि नयाँ संविधान लागू गरिएसँगै देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो।
विसं २०५८ जेठ १९ मा राजा वीरेन्द्रको वंशनाश हुने गरी दरबार हत्याकाण्ड भयो। उक्त घटनाबारे छानबिन गर्न बनेको समितिले वीरेन्द्रका छोरा (युवराज) दीपेन्द्रले चलाएको गोलीबाट परिवारका सदस्यको हत्या भएको र पछि आफैँलाई गोली हानेको प्रतिवेदन सार्वजनिक गरेको थियो।
दरबार हत्याकाण्डपश्चात् तत्कालीन युवराज दीपेन्द्र कोमामा हुँदा उनलाई राजा घोषित गरिएको थियो। राजा घोषित भएको तीन दिनपछि उनको निधन भएपश्चात् दीपेन्द्रका माइला काका ज्ञानेन्द्र शाह नेपालको राजामा नियुक्त भएका थिए। उनले १९ माघ २०६१ मा निर्वाचित सरकार भंग गरी सत्ता आफ्नो हातमा लिएका थिए।
त्यसविरुद्धमा तत्कालीन विद्रोही माओवादीसहित संसद्वादी सात राजनीतिक दलको संयुक्त जनआन्दोलन भएको थियो। उक्त आन्दोलन उत्कर्षमा पुगेसँगै २०६३ सालबाट २४० वर्षे लामो राजतन्त्रको अन्त्यसँगै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएको थियो। २००७ सालमै ६१ दिन राजा बनेका ज्ञानेन्द्र नै दोस्रो पटक २०५८ देखि ०६५ सम्म राजकाज गरेर मुलुकका अन्तिम राजा बने।
शाहवंशीय शासनकालको इतिहास
पृथ्वीनारायण शाह:
१८२५ असोज १३ देखि १८३१ माघ १ सम्म (६ वर्ष १०८ दिन)
प्रतापसिंह शाह:
१८३१ माघ १ देखि १८३४ मंसिर ६ सम्म (२ वर्ष ३१० दिन)
रणबहादुर शाह:
१८३४ मंसिर ६ देखि १८५५ फागुन २८ (२१ वर्ष, १११ दिन)
गीर्वाणयुद्धविक्रम शाह:
१८५५ फागुन २८देखि १८७३ मंसिर ७ सम्म (१७ वर्ष, २५७ दिन)
राजेन्द्रविक्रम शाहः
१८७३ मंसिर ७ देखि १९०४ वैशाख ३१ (३० वर्ष, १७३ दिन)
सुरेन्द्रविक्रम शाहः
१९०४ वैशाख ३१ देखि १९३८ जेठ ६ सम्म (३४ वर्ष, ५ दिन)
पृथ्वी वीरविक्रम शाह:
९३८ जेठ ६ देखि १९६८ मङ्सिर २६ सम्म (३० वर्ष, २०८ दिन)
त्रिभुवन वीरविक्रम शाहः
१९६८ मंसिर २६ देखि २००७ कातिक २२ (३८ वर्ष, ३३१ दिन)
ज्ञानेन्द्रवीरविक्रम शाह :
२००७ कातिक २२ देखि २००७ पुष २३ (६१ दिन )
त्रिभुवन वीरविक्रम शाह:
२००७ पुष २३ देखि २०११ फागुन ३० (४ वर्ष, ६५ दिन)
महेन्द्र वीरविक्रम शाह:
२०११ चैत १ देखि २०२८ माघ १७ (१६ वर्ष,३२३ दिन)
वीरेन्द्र वीरविक्रम शाहः
२०२८ माघ १७ देखि २०५८ जेठ १९ (२९ वर्ष, १२१ दिन)
दीपेन्द्र वीरविक्रम शाह:
२०५८ जेठ १९ सम्म २०५८ जेठ २२ (३ दिन)
ज्ञानेन्द्रवीरविक्रम शाह :
२०५८ जेठ २२ देखि २०६५ जेठ १५ सम्म (६ वर्ष, ३५९ दिन)