‘गेडा’को विभाजनले बनेको पुमा र एडिडास

खेल क्षेत्रमा एडिडास र पुमा ब्रान्डका कुनै पनि खेल सामग्री खेलाडीका लागि नौलो कुरा होइन। यी दुवै ब्रान्ड विश्वभरि चर्चित छन्। वास्तवमा यी दुवै ब्रान्डका मालिक एकै परिवारका दुई दाजुभाइ हुन्। एउटै परिवारका भए पनि दुवैजना एकअर्कासँग विभाजित भएपछि यी दुई ब्रान्ड जन्मेको हो। २०औं शताब्दीको मध्यमा डास्लर दाजुभाइ एडोल्फ र रुडोल्फको विवादले गर्दा खेलकुद क्षेत्रको चर्चित ब्रान्ड एडिडास र पुमाको सिर्जना भएको हो।

रुडोल्फको जन्म सन् १८९८ मा भएको थियो भने उनका भाइ एडोल्फ त्यसको दुई वर्षपछि सन् १९०० मा जर्मनीमा जन्मिएका थिए। उनीहरूको जन्म एक मध्यवर्गीय परिवारमा भएको थियो। सन् १९१९ मा दुवै दाजुभाइ मिलेर ‘गेब्रुअडर डास्लर स्कुहफाब्रिक’ ब्रान्डका जुत्ता कम्पनीको स्थापना गरेका थिए। जर्मन भाषामा गेब्रुअडरको अर्थ भाइ हो। जसलाई छोटकरीमा ‘गेडा’ नाम दिइयो। गेडा ब्रान्ड सन् १९३० र १९४० को दशकमा निकै चर्चित बनेको थियो। सन् १९३६ को ओलम्पिकमा प्रख्यात अफ्रिकी–अमेरिकी धावक जेस्से ओवेन्सले गेडाको जुत्ता लगाएर स्वर्ण पदक जितेका थिए। पछि उक्त जुत्ता प्रदर्शनीमा पनि राखिएका थिए। दुवै दाजुभाइ सन् १९३३ मा हिटलरको नाजी पार्टीका सदस्य बनेका थिए। सन् १९३८ देखि दोस्रो विश्वयुद्ध शुरू भयो। त्यसपछि गेडा कम्पनीले पनि आफ्नो उत्पादन बन्द गर्नुपरेका थियो। रुडोल्फ जर्मन सेनामा भर्ती भएका थिए। युद्धकालमा गेडाको जुत्ता कारखाना हतियारको कारखानामा रूपान्तरित गरिएको थियो। युद्ध समाप्त भएपछि रुडोल्फले पुनः गेडाको जुत्ता उत्पादन शुरू गरेका थिए।

तर, सन् १९४८ मा ३० वर्षभन्दा बढीको समयपछि एडोल्फ र रुडोल्फले अचानक सहकार्य टुटाउँदै गेडा कम्पनी बन्द गरेर छुट्टिए। त्यस्तो हुनुको प्रमुख कारण दुई दाजुभाइका पत्नीबीचको झगडा थियो। त्यसपछि सन् १९४८ मा रुडोल्फले पुमा कम्पनीको स्थापना गरे। जुन शुरूमा रुडोल्फ डास्लरको छोटकरी नाम रुडा थियो। तर, त्यसको केही समयपश्चात् रुडा नाम परिवर्तन गरेर जनावरको नाममा पुमा राखियो। अर्कोतिर सन् १९४९ मा एडोल्फले पनि एडिडासको स्थापना गरे, जुन आफ्नै नाम एडी डास्लरको छोटकरी रूप हो। यी दुई दाजुभाइले आ–आफ्नो नामको कम्पनी सुरुवात गर्दा गेडामा काम गरेका श्रमिक र स्रोत दुई भाइबीच विभाजन गरिएको थियो। एडिडासले त्यतिबेला रेल्वे स्टेसनको नजिक रहेका कारखाना र गेडाका दुई–तिहाइ कर्मचारीलाई काममा राखेका थिए। किनभने अधिकांश कर्मचारी रुडोल्फको बिक्री–केन्द्रित दृष्टिकोणभन्दा एडोल्फको उत्पादन विकास केन्द्रित सोचलाई प्राथमिकता दिन्थे। रुडोल्फले वरबर्गर स्ट्रिटमा रहेको कारखाना र बाँकी एक तिहाइ श्रमिकलाई आफ्नो कम्पनीमा रोजगारी दिए।

त्यसको केही दशकपछि एडिडास र पुमाले विश्व खेलकुद जगतमा आफ्नो प्रभुत्व जमाउन कम्मर कसेर लागिपरे। सन् ७० र ८० को दशकतिर बक्सिङ लेजेन्ड मोहमद अली र जोए फ्रेजरले एडिडास र ब्राजिल राष्ट्रिय फुटबल टोलीका सदस्यले पुमासँग सम्झौता गरेका थिए। एडिडासले विभिन्न खेलका लागि अनुकूल हुने जुत्ता बनाउँदै तीव्र गतिमा बजार विस्तार ग¥यो। अर्कोतिर रुडोल्फको पुमाले ती दशकमा एडिडासलाई पछ्याउन थाले। रुडोल्फको निधन सन् १९७४ मा भयो। त्यसको चार वर्षपछि सन् १९७८ मा एडोल्फले पनि अन्तिम सास फेरे। यी दुई भाइलाई हर्जोगेनौराच चिहानको विपरीत दिशाको छेउमा गाडियो।

पुमा र एडिडासको प्रतिस्पर्धाबाट सिर्जित चर्चित घटनामध्ये एक ‘पेले प्याक्ट’ पनि थियो। सन् १९७० को फिफा विश्वकपका लागि पेलेसँग सम्झौतामा हस्ताक्षर नगर्न दुवै ब्रान्ड सहमत भएका थिए। किनभने दुवै ब्रान्डको प्रतिस्पर्धाले त्यतिबेला संसारको सबैभन्दा प्रसिद्ध खेलाडीका लागि प्रायोजन रकम निकै महँगो हुने डर थियो। तर, पुमाले एकाएक पूर्वसहमति तोडेर पेलेसँग सम्झौता गरेका थिए। त्यस घटनापछि दुवै कम्पनीका मालिकबीच मात्र नभएर कर्मचारीबीच पनि तिक्तता उत्पन्न भएको थियो।

एडिडास र पुमा ब्रान्डसम्बन्धी केही जानकारी

दुई दाजुभाइले सन् १९१९ मा आफ्ना आमाबाबुको घरमा जर्मन खेलाडीलाई भनेर गेडा ब्रान्डको जुत्ता व्यवसाय शुरू गरेका थिए। जुन निकै प्रसिद्ध भएको थियो। धेरैजसो जर्मन खेलाडीले सन् १९२८ को आम्स्टर्डम ग्रीष्मकालीन ओलम्पिकमा ती जुत्ता लगाएका थिए।

दोस्रो विश्वयुद्धपछि दुई भाइहरू छुट्टिए। युद्धपछि दुवैले आ–आफ्नै ब्रान्डका खेलकुद जुत्ता कम्पनीहरूको स्थापना गरे।

सन् १९४८ मा स्थापना गरिएको पुमालाई शुरूमा रुडा भनिन्थ्यो, जुन रुडोल्फ डास्लरको छोटकरी नाम हो।

सन् १९४९ मा स्थापना गरिएको एडिडासलाई एडोल्फ डास्लरको नाममा राखियो।

दुई दाजुभाइको तीव्र प्रतिस्पर्धाले उनीहरूको परिवार, उनीहरूको गृहनगर र खेलको संसारलाई विभाजित ग¥यो।

एडिडासको प्रतीकमा तीन धर्का छन्, जसले ब्रान्डको पहिचानमा महत्वपूर्ण भूमिका खेलेको छ।

पुमाको प्रतीक चिन्ह एक जनावरको छायाँ हो, जुन गति र शक्तिको प्रतीक मानिन्छ।

Source : https://newsofnepal.com/2024/10/29/675904/