‘भ्रष्टाचारी, लुटेरालाई संरक्षण गरेर मुलुक समृद्ध कसरी बन्छ प्रधानमन्त्रीजी ?’

बीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘घुसखोरलाई चोर जस्तै र भ्रष्टाचारीलाई बलात्कारी जस्तै’ जनताले जनकारवाही गर्नुपर्ने बताएका छन् । चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले भाटा नहाने मुलुक नसुध्रिने उनले बताए ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रमको आज पर्साको निचुटामा आयोजित आमसभालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले मुलुकमा भ्रष्टाचार र घुसखोरी बढदै गईरहेको र त्यसलाई सरकारले संस्थागत गरिरहेको आरोप लगाए ।

‘घुसखोर र भ्रष्टाचारीहरु अहिले खुलेयाम घुमिरहेका छन् । देश लुटिरहेका छन् । चोर जस्तै घुसखोरलाई र बलात्कारी जस्तै भ्रष्टाचारीलाई जनताले भाटा हान्नुपर्छ । त्यस्तालाई जनकारवाही गर्नुपर्छ’, आजपा अध्यक्ष साहले भने, ‘गाउँघरमा चोर भेट्दा प्रहरीलाई खबर गर्नुभन्दा अघि जनताले त्यसको रामधुलाई गर्छन् । यहाँ घुसखोर, भ्रष्टाचार गर्नेलाई पनि त्यस्तै जनकारवाही गर्नुपर्छ । पहिला रामधुलाई गर्ने अनि प्रहरीलाई खबर गरेर बुझाउनुपर्छ ।’

मुलुकमा भ्रष्टाचार, घुसखोरी, अनियमितता, बढदै गईरहेको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई संस्थागत गरेको गम्भिर आरोप उनले लगाए । मुलुकमा बिभिन्न ठुलठुल्ला भ्रष्टाचारका काण्ड बाहिर आए पनि सरकारले भ्रष्ट, लुटेरालाई अझै कारवाही नगरेको उनले बताए ।

गीरिबन्धु, ललिता निवास प्रकरण, भुटानी शरणार्थी, टेरामक्स, वाईडवडीदेखी लिएर बिभिन्न घोटाला र भ्रष्टाचारका काण्ड बाहिर आएको भए पनि सरकारले कारवाही नगरी संरक्षण गरेको आजपा अध्यक्ष साहले आरोप लगाए ।

‘बिभिन्न काण्डहरु आएको छ । यहाँ राज्यको ढुकुटी लुट्नेदेखी सार्वजनिक सम्पती लुट्ने काम भईरहेको छ । भ्रष्ट, लुटेराहरु सार्वजनिक रुपमा खुलेयाम घुमिरहेका छन् । उनीहरु सम्मानित भईरहेका छन्, श्रमजीविहरु ऋपमानित भईरहेका छन् । के सरकारले उनीहरुलाई कारवाही गर्नुपर्दैन् ?’, प्रश्न गर्दै आजपा अध्यक्ष साहले भने, ‘मुलुक समृद्ध बनाउँछौं भन्नुहुन्छ प्रधानमन्त्रीजी, तर भ्रष्टाचारी, लुटेरालाई संरक्षण पनि गर्नुहुन्छ । करमाथि कर लगाएर नेपाली जनतामाथि ऋणको भारी बोकाउने सरकारले समृद्ध नेपाल कसरी निर्माण गर्छ ? भ्रष्ट, लुटेरालाई संरक्षण गरेर समृद्ध नेपाल कहिलै बन्दैन् ।’

‘भ्रष्टाचार बिरुद्धको मधेस यात्रा’ कार्यक्रम पर्सा जिल्ला अध्यक्ष विश्वराज पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्षद्धय समिना हुसेन, अशोक लामा, महासचिव त्रिभुवन साह लगायतको सहभागिता रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

The post ‘भ्रष्टाचारी, लुटेरालाई संरक्षण गरेर मुलुक समृद्ध कसरी बन्छ प्रधानमन्त्रीजी ?’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104134/