एनपीएलको उद्घाटन खेलको टिकट तीन दिनमा नै सोल्ड आउट

काठमाडौं– सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मंसीर १५ अर्थात् आगामी शनिबारदेखि सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफैँ आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज लिगलाई लिएर समर्थकहरु निकै उत्साहित छन् ।

यसैक्रममा कीर्तिपुरस्थित त्रिवि मैदानका शनिबार विराटनगर किंग्स र जनकपुर बोल्टबीच उद्घाटन खेल हुँदैछ । उक्त खेलका लागि क्यानले १० हजार टिकट खुला गरेको थियो । तर टिकट भने खेल सुरु हुनुभन्दा तीन दिनअघि नै सोल्ड आउट भएको छ ।

खल्ती एपबाट उक्त टिकट बिक्री खुला गरिएको थियो । जसमध्ये साधारण टिकट सबै बिक्री भएका छन् । यस्तै भाइआइपीतर्फ ८ सय टिकट बिक्री भएको क्यानले जनाएको छ । उद्घाटन खेलका लागि क्यानले साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय रूपैयाँ टिकट दर तोकेको थियो। पहिलो दिनमा नै टिकट बिक्रीबाट क्यानले ३३ लाख रूपैयाँ बढी कमाइसकेको छ।

क्यानले अरु दिन भने १३ हजार टिकट बिक्री गर्ने योजना बनाएको छ। क्यानले अरू दिनका लागि टिकट बिक्री सुरु गरिसकेको छ। अरू दिनको पनि टिकट किन्नेको चाप बढिरहेको क्यानको दाबी छ ।

लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। यस्तै प्लेअफको ५ सय र ७ सय रुपैयाँ र फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ।

सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ।

मंसिर १५ बाट कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ। एनपीएलको संस्करण पुस ६ गतेसम्म चल्नेछ ।

 

Source : https://onlinetvnepal.com/2024/11/186886/