कलाकार संघद्वारा बाढीपहिरो पीडितलाई कम्बल वितरण
काठमाडौं ।
नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ। गतअसोज दोस्रो साता आएको भारी वर्षा र बाढीपहिरो पीडितका लागि सोमबार संघले कम्बल वितरण गरेको हो।
ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई वडाध्यक्ष राज घिमिरेको उपस्थितिमा ८५ थान कम्बल वितरण गरिएको हो। संघका महासचिव तथा अन्तर्राष्ट्रिय समन्वयन समिति संयोजक सविन श्रेष्ठको समन्वयनमा नेपाल कलाकार संघ अमेरिका शाखाका अध्यक्ष दिनेश कार्कीसहितको टिमले कम्बल खरिद गर्न एक लाख ४१ हजार पाँच सय ६८ रुपियाँ पठाएका थिए। सोही रकमबारबरको कम्बल वितरण गरिएको हो।
संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, सहकोषध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल ‘छन्दे’ लगायत राहत वितरणमा खटिएका थिए।