चिनियाँ ह्याकरहरूको निशानामा ट्रम्पको फोन डाटा

चीन सरकारसँग जोडिएका ह्याकरहरूले अमेरिकी राष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प र उप राष्ट्रपति उम्मेदवार जेडी भान्सको फोन संचारलाई लक्षित गर्दै उच्च स्तरका अमेरिकी व्यक्तिहरू विरुद्धको व्यापक साइबर जासूसी प्रयास गरेको अमेरिकाले दावी गरेको छ । चिनियाँ ह्याकरहरूले ह्यारिस वाल्जको चुनाव अभियानसँग सम्बन्धित व्यक्तिहरूलाई पनि लक्षित गरेको जनाइएको छ। साथै बाइडेन प्रशासनका उच्च अधिकारीहरू पनि लक्षित भएको जनाइएको छ ।

अमेरिकी अधिकारीहरूले ट्रम्प र भान्स चिनियाँ ह्याकरहरूले लक्षित व्यक्तिहरूको समूहमा परेको ट्रम्प अभियानलाई जानकारी गराएका छन् । ट्रम्पको अभियानका प्रवक्ता स्टेभन चेङले ह्यारिस अभियानले चीनलाई हौस्याएको आरोप लगाएका छन्।

ह्याकरहरूले कुनै डेटामा पहुँच कायम गरेको स्पष्ट छैन। हाल र पूर्व वरिष्ठ अमेरिकी अधिकारीहरूको फोन संचार विदेशी गुप्तचरहरूको लागि महत्त्वपूर्ण लक्ष्य रहेको छ।घटनाबारे अमेरिकी सरकार अनुसन्धान गरिरहेको एफबीआई र अमेरिकी साइबर सुरक्षा तथा पूर्वाधार सुरक्षा एजेन्सीले शुक्रबारको एक विज्ञप्तिमा जनाएका छन् ।

एफबीआईले टेलिकम्युनिकेसन कम्पनीहरूलाई लक्षित ह्याकिङको पहिचान गरेपछि एफबीआई र सिसाले तुरुन्त प्रभावित कम्पनीहरूलाई सूचित गरेर प्राविधिक सहयोग प्रदान गरेको र अन्य सम्भावित पीडितहरूलाई सहयोगका लागि सूचना शेयर गरेको बताएको छ। न्यूयोर्क टाइम्सले सबैभन्दा पहिले ट्रम्प र भान्सको फोनलाई लक्षित गरिएको ह्याकिङको रिपोर्ट गरेको थियो।

यो गतिविधि पछिल्लो केही महिनामा अमेरिकी टेलिकम्युनिकेसन फर्महरूमा भएको व्यापक चिनियाँ ह्याकिङ अभियानको एक हिस्सा रहेको छ। अनुसन्धानकर्ताहरूका अनुसार ह्याकरहरूले सम्भावित संवेदनशील राष्ट्रिय सुरक्षा सूचना खोजिरहेका छन्, जसमा डिपार्टमेन्ट अफ जस्टिसले गरेको वायरट्यापको अनुरोधको जानकारीसमेत समेटिन सक्छ।

प्रमुख अमेरिकी इन्टरनेट र ब्रॉडब्यान्ड सेवा प्रदायकहरु एटीएनटी, भेराइजन र लुमेन पनि ह्याकरहरूको लक्ष्य बनेका छन् । यो चिनियाँ ह्याकिङ समूहलाई साइबर सुरक्षा क्षेत्रमा साल्ट टाइफून भनेर चिनिन्छ। अमेरिकी अधिकारीहरूले चिनियाँ ह्याकिङ अभियानबारे हाउस र सिनेटको गुप्तचर समिति सदस्यहरूलाई ब्रिफिङ दिएका छन्।

चीन सरकारले यी आरोपहरू अस्वीकार गरेको छ। चीन, इरान र रूसले अमेरिकी चुनावका विभिन्न पक्षलाई प्रभाव पार्ने वा निगरानी गर्ने प्रयास गरिरहेका खबरहरु आइरहेको बेलामा यो समाचार आएको हो ।

Source : https://www.khasokhas.com/211063