जन्मिने बित्तिकै खेतमा फालिएकी बालिकाले पाइन् परिवार
रौतहट– रौतहटमा जन्मिने बित्तिकै खेतमा फालिएकी बालिकाले परिवार पाएकी छिन् । विगत एक महिनादेखि प्रादेशिक अस्पताल गौरमा राखिएकी पालिकाले एक परिवारले रितपूर्वक धर्मपुत्री बनाएका ह्न ।
गत कार्तिक १४ गते राति जन्मिएको उक्त नवजात शिशुलाई कसैले रौतहटको सदरमुकाम गौरस्थित खेतमा फालेर गएका थिए । गत कार्तिक १५ गते गौरको सबगढा गाउँ छेउको खेतमा बेवारिसे अवस्थामा ती बालिका फेला परेकी थिइन् । बालिका भेटिँइदा उनका हातहरु कमिलाले टोकिरहेको थियो । केही घण्टा अघि खेतमा छाडिएकी बालिका बिहान भेटिँदा उनको हातको औँलाहरूमा कमिलाले टोकेर घाउ खत बनाएको थियो।
बालिकालाई खेतमा रोइरहेको फेला पारेपछि स्थानीयले प्रादेशिक अस्पताल गौरमा पुर्याएका थिए । सोपछि अस्पतालमा नै बालिकाको उपचार तथा पालनपोषण गरी राखिएको थियो । बालिकालाई सोमवार यमुनामाइ गाउँपालिका–१ जेठरहिया निवासी रघुनाथ सहनी र उनको श्रीमती अनिता सहनीले जिम्मा लिएका छन् ।
जिल्ला अदालत रौतहटबाट सम्पूर्ण प्रक्रिया पूरा गरी बालिकालाई सहनी परिवारले जिम्मा लिएको अस्पताल विकास समितिका अध्यक्ष अनवरले बताए। प्रादेशिक अस्पतालमा उपचारपछि सुरक्षित पालनपोषण भइरहँदा सोमवार सहनी परिवारले आफ्नो सन्तान सरह राख्ने बाचा गर्दै जिम्मा लिएर गएको अस्पतालले जनाएको छ ।