टिजर सार्वजनिकसँगै बमबहादुरको रिलिज मिति तय
काठमाडौं । गत साता रिलिज हुने भनिएको चलचित्र ‘बम बहादुर’को प्रदर्शन स्थगित गरिएको थियो । यो चलचित्र अब आगामी ५ पुसमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरेको छ । सोमबार यो चलचित्रको टिजर सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति तोकेको हो । यो चलचित्र नेपाल र भारतमा एकै दिन रिलिज हुने पनि निर्माण पक्षले जनाएको छ ।
‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौँ । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैँमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने नारालाई यो चलचित्रको टिजरमा समेटिएको छ ।
भारतको दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सँघर्षको कथामा यो चलचित्र बनाईएको पनि निर्माण पक्षले जनाएको छ । यो चलचित्र १९८० को दशक अर्थात् आजभन्दा करिब ३८ वर्षअघि भएका घटनाहरूमाथि आधारित छ ।
यो चलचित्रमा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पञ्चकोटीलगायतको अभिनय रहेको छ ।
बिस्ट ब्रदर्स फिल्म्स प्रालिको निर्माणमा यो चलचित्र तयार भएको छ । चलचित्रको निर्माणसँगै सेन्सर समेत सम्पन्न गरिएको छ । बम बहादुर चलचित्रका निर्देशक जोन राई हुन् । बम बहादुर एउटा सन्देशमूलक कथा र ऐतिहासिक सँघर्षलाई चित्रण गरिएको चलचित्र भएको राईले बताएका छन् । भारतका नेपाली समुदायले भोगेको सँघर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न यो चलचित्र बनाएको राईले बताएका छन् । बम बहादुर मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक कथा पनि रहेको र यसले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स, र सोसल ड्रामाको अनुभव गराउने राईले जिकिर गरेका छन् ।
निर्माता सञ्जीव सार्कीले सन्ततिले आफ्नो इतिहास बिर्सिन नपरोस् भन्ने उद्देश्यले यो चलचित्र बनाएको बताएका छन् । उनका अनुसार चलचित्रले बम बहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाहरूको छायाले कसरी वर्तमानमा उनको जीवनलाई प्रभावित बनाएको छ भन्ने कथा प्रस्तुत गर्ने छ ।
जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको यस चलचित्रको छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् । जसमा सम्पादन ज्ञान गुरुङको रहेको छ । यसको गीत संगीत दीपशँकर सिंह मुखियाले तयार पारेका हुन् भने संगीत संयोजन तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले सृजना गरेका छन् ।
यो चलचित्रका लाइन प्रोड्युसरमा प्रकाश हमाल, कलरिस्टमा कुनाल कुँवर, साउन्ड मिक्सरमा मुकेश शाह रहेका छन् । यसको वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछ भने पोस्ट प्रोडक्शन नेपालको क्लासिक सिने युनिभर्स र भारतको हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो ।
The post टिजर सार्वजनिकसँगै बमबहादुरको रिलिज मिति तय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104482/