तीन पटक विश्वकप जितेका लिजेन्ड फुटबलर पेलेका रोचक घटनाहरू

ब्राजिलका लिजेन्ड फुटबलर पेलेको निधन सन् २०१९ अक्टोबर २३ मा ८२ वर्षको उमेरमा भएको थियो। पेले तीनपटक विश्व विजेता बन्ने एक्लो फुटबलरसमेत थिए। उनको टिम ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटक विश्वकप जितेको थियो। यहीबाट पेले लिजेन्ड फुटबलरको रूपमा परिचित भए। यीबाहेक पेलेको केही नसुनिएका रोचक घटना पनि छन्। यी रोचक घटनामध्ये केही यहाँ प्रस्तुत गरिएको छ।

राष्ट्रपति बन्ने सपना
पेले महान् फुटबलर बने, त्यसपछि केही चलचित्रमा खेले पनि। सन् १९९० को दशकमा राजनीतिमा प्रवेश गरेर उनले स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव जितेका थिए। योसँगै पेले सन् १९९५ जनवरी १ देखि ३० अप्रिल १९९८ सम्म ब्राजिलका खेलमन्त्री भएका थिए। तर, उनको सपना भने ब्राजिलको राष्ट्रपति बन्ने थियो, जुन पूरा हुन सकेन।

बिटल्सका सदस्यले भेट्न खोजेको
संगीतको जगतमा बिटल्स ब्यान्ड निकै चर्चित थियो। ब्रिटिस ब्यान्ड बिटल्सले एक पटक पेलेसँग भेट्न खोजेको थियो। सन् १९६६ को फिफा विश्वकप इंग्ल्यान्डमा हुँदा पेले ब्राजिलका सुपरस्टार खेलाडी भइसकेका थिए। बिटल्स ब्यान्डले पेलेसँग भेट्न खोज्दा ब्राजिली संघका पदाधिकारीले रोकेका थिए। पछि सन् १९७५ मा बिटल्सका गायक जोन लेननलाई उनले न्युयोर्कमा भेटेका थिए। सो कुरा उनले आफ्नो आत्मकथामा उल्लेख गरेका थिए।

पेलेको खेलका कारण नाइजेरियामा गृहयुद्ध रोकियो
सन् १९६७ मा पेलेआबद्ध ब्राजिलको क्लब सान्तोसले नाइजेरियामा खेल्ने कार्यक्रम थियो। बेनिस शहरमा मैत्री खेल पनि भयो र यो खेलको नतिजा सान्तोसले २–१ ले आफ्नो पक्षमा पारेको थियो। तर, यो खेल खेल्ने समयमा नाइजेरियामा गृहयृुद्ध चलिरहेको थियो। पेलेले खेल्ने भनेपछि त्यहाँ गृहयुद्ध ४६ घण्टाका लागि रोकिएको थियो। पेलेले पनि यो कुरालाई स्वीकार गर्दै भनेका थिए—खेलुन्जेल नाइजेरियामा कुनै युद्ध भएको थिएन।

पेलेलाई भीडले काँधमा बोक्यो
सन् १९७२ मा सान्तोसले ट्रिनिदाद एन्ड टोबागोमा खेलेको थियो। त्यतिबेला त्यहाँ आन्दोलन भएको थियो। त्यसैले खेल सकेर सान्तोस टोली छिटै ब्राजिल फर्किने तयारीमा थियो। तर, पेलेले गोल गरेपछि मैदानमा भीड आएर उनलाई काँधमा बोकेर जुलुस निकाल्यो। उनलाई उद्धार गर्नसमेत कठिन भएको थियो। तर, केही समयपछि उनलाई सकुशल उद्धार गरियो।

हलिउड नायक स्टालनसँगै चलचित्रमा देखापरे

सिल्भेस्टर स्टालन हलिउड चलचित्रका एक सफल नायक हुन्। पेलेले एक चलचित्र इस्केप टू भिक्टोरीमा उनीसँगै काम गरेका थिए। यस चलचित्रमा दोस्रो विश्वयुद्धताकाको नाजी ११ र युद्धमा बन्दी भएका टोलीबीचको खेलको विषय थियो। यसमा पेलेसँगै विश्वकप जितेका अन्य खेलाडीले पनि अभिनय गरेका थिए।

स्ट्राइकर पेले राम्रा गोलकिपर पनि

पेले एक महान् स्ट्राइकर थिए। तर, उनी इस्केप टू भिक्टोरीमा गोलकिपरको भूमिकामा थिए। चलचित्रमा देखिएजस्तै नै उनी राम्रा गोलकिपर पनि थिए। एउटा खेलमा एक खेलाडीमात्रै फेर्न पाउने अवस्थामा पेलेले क्लब र राष्ट्रिय टोलीका गोलकिपरको जिम्मेवारी लिएका थिए। सान्तोस क्लबका लागि उनी चारपटक गोलकिपर बनेका थिए।

Source : https://newsofnepal.com/2024/10/26/675411/