तेल भिसा नेपालसँगै अस्ट्रेलिया र न्युजिल्यान्डमा पनि


आज शुक्रबार अल नेपाल रिलिज हुने फिल्म तेल भिसाले अस्ट्रेलिया र न्युजिल्यान्डका हलमा उच्च शो पाएको छ।
नेपालसँगै अस्ट्रेलिया र न्युजिल्यान्डका हलमा एकसाथ रिलिज हुने फिल्मले ती देशका ४० हलमा एक सय बढी शो पाएको छ। फिल्म नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वाइज्ले अस्ट्रेलियामा रिलिज गर्न लागेको हो।


फिल्मले स्वदेशमा पनि उच्च शो पाएको छ। फिल्मले देशभर करिब डेढ सय शो पाएको छ। फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकामा २५ शो दिएको छ भने जिल्लामा पनि २५ शो नै दिएको छ। त्यसैगरी, आईएनआई सिनेमाजले ९, वान सिनेमाजले ७, एफक्युबले ६, बिग मुभिज्ले ४, बिएसआर मुभिज्ले ३, रञ्जना सिनेप्लेक्सले ५, सिके सिनेमाजले ३, सिने डी सेफले ४ र कीर्तिपुर सिनेप्लेक्सले १ शो दिएको छ। फिल्मले सिंगल थियटरमा समेत राम्रो शो पाएको निर्माण समूहले जानकारी गराएको छ।


विदेशिएका सन्तानको निम्तोमा उनीहरू र उनीहरूको सन्ततिलाई स्याहार्न विदेश जाने बाबुआमाले त्यहाँ भोग्नुपर्ने समस्या र पीडाको कथामा बनेको फिल्म १२ वर्ष लामो समयको अन्तरालपछि शंकर घिमिरेले निर्देशन गरेका हुन्। अभिनेता विपिन कार्कीले दुई पुस्ता (बुवा र छोरा) को दोहोरो भूमिकामा अभिनय गरेका छन्। विपिनका साथमा वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, फ्रान्सिस शेरमन, ज्याक बेल, सुचित्रा उप्रेती, अनील पाण्डे, प्रेम पाण्डे, सुचित्रा उप्रेतीलगायतका कलाकारले अभिनय गरेको फिल्म अमेरिकाको मेरिल्याड र नेपालका विभिन्न क्षेत्रमा खिचिएको छ। फिल्ममा अमेरिका र नेपालका शानदार दृश्य समावेश गरिएको छ।


शंकलरले यसअघि उनले विष, विरताको चिनो, ब्रेकफेल, तुलसीजस्ता फिल्म निर्देशन गरेका थिए। ऋचा घिमिरे, पूजा चन्दजस्ता कलाकारले पनि लामो समयको अन्तरालपछि यही फिल्मबाट कमब्याक गरेका छन्। वेलडन क्रियसनको ब्यानरमा नायिका ऋचा घिमिरेद्वारा प्रस्तुत तथा अनिल पाण्डे र शिवराज कार्कीद्वारा निर्देशित फिल्ममा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेका छन्।

फिल्ममा निर्देशक शंकर घिमिरेको लेखन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, आशिष अविरल, अन्जु पन्त, शान्तिश्री परियार, साइराज खाती र निशान भट्टराईको स्वर, सुशन प्रजापतिको छायांकन र अजय खड्काको सम्पादन रहेको छ।

Source : https://newsofnepal.com/2024/11/22/679419/