नेपाली सेना लिगल सेमिनार २०८१ सम्पन्न
काठमाडौं ।
सेना प्राड विवाक स्थापनाको ६२ औँ वार्षिकोत्सवको अवसर पारेर २६ गतेबाट जंगी अड्डामा आयोजित लिगल सेमिनार आज (बिहिबार) प्रधान सेनापति अशोक राज सिग्देलले समापन गरेका छन् ।
नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयन सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको सेमिनार प्राड उपरथी जीवन प्रसाद दाहालले शुभारम्भ गरेका थिए ।
चार दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्व न्यायाधीश, सेना प्राड विवाकका पूर्व प्रमुखहरू लगायतका विषयविज्ञहरुबाट सम्बद्ध विषयहरूमा प्रस्तुतीकरण भएको थियो ।
आज आयोजित समापन समारोहमा सम्बोधन गर्दै प्रधान सेनापतिले कानुन अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिए । समापनमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।