बी डिभिजनका १० क्लबद्वारा लिग नखेल्ने निर्णय

काठमाडौं ।

सहिद स्मारक ‘बी’ डिभिजनका १० क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट बक्यौता रकम नपाएसम्म लिग नखेल्ने विज्ञप्तिद्वारा जानकारी गराएको छ।

सोमबार अन्नपूर्ण क्लब आरसीटी, मध्यपुर युथ एसोसियसन, सरस्वती युवा क्लब, बिग्रेड ब्वाइज क्लब, नयाँबस्ती युथ क्लब, विरगंज युनाइटेड क्लब, टुसाल युथ क्लब, ब्वाइज युनियन क्लब, च्यासल युथ क्लब र झापा फुटबल क्लबले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरी एन्फाले बक्यौता रकम नदिएसम्म बी डिभिजन लिग नखेल्ने बताएको हो ।

गत मंगलबार एन्फाले ‘बी’ डिभिजन लिग आगामी माघ १३ गतेदेखि सञ्चालन हुने निर्णय गरेको थियो । जसअनुसार एन्फाले मंसिर २१ गतेसम्म क्लब दर्ता गरी सक्नुपर्ने र पुस १३ गते खेलतालिका प्रकाशन गरिने निर्णय गरेको थियो ।

नयाँ मिति सार्वजनिक भएको एक सातामा १० क्लबले असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेको हो। पछिल्लो पटक २०७८ फागुनदेखि चैतसम्म ‘बी’ डिभिजन लिग भएको थियो । त्यसयता पटक–पटक लिगको मिति तय भए पनि रद्ध हुँदै आएको छ।

असन्तुष्ट क्लबहरुले एन्फाका कारण लिग सञ्चालन हुन नसकेको आरोप लगाउँदै तीन वर्ष अवधिमा भएका विभिन्न घटनाक्रमहरु उल्लेख गरेका छन्। एन्फाले २०७८ सालमा सम्पन्न लिगको टिम तयारी बापत पाउनु पर्ने रकम अहिलेसम्म नदिएको क्लबहरुको गुनासो छ।

असन्तुष्ट क्लबले यो तीन वर्षको अवधिमा एन्फालाई लिग गर्न पटक–पटक ध्यानाकर्षण गराएको पनि प्रस्ट पारेको छ । यसैगरी असन्तुष्ट पक्षले एन्फाले आफूहरुलाई फुटबल गर्न नचाहेको तत्वका रूपमा परिभाषित गर्न खोजेको आरोप समेत लगाएको छ । एन्फाले अधिकांश क्लबको उपस्थितिविनै एकलौटी निर्णय गरेकोमा पनि उनीहरुले आपत्ति जनाए ।

Source : https://newsofnepal.com/2024/11/26/680081/