भ्रष्टबिरुद्ध जनकारवाही र सडक आन्दोलनको बिकल्प छैन्: प्रभु साह

कलैया । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलिको १०० दिने काम पुर्ण रुपमा असफल, भ्रष्टाचारीलाई संरक्षण र लुटने काम मात्रै भएको बताएका छन् । भ्रष्टाचार नियन्त्रण राज्यको पहुँचभन्दा बाहिर गएको बताउदै उनले भ्रष्टाचारी, लुटेरा र अनियमितता गर्नेहरु नै शासन व्यवस्था सञ्चालन गरिरहेको गम्भिर आरोप लगाए । उनले राज्यले नै भ्रष्टाचारीलाई संरक्षण दिएको बताए ।

बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा बाराको कलैया स्थित गंगापुरमा आज आयोजित शुभकामना अदानप्रदान एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले देशलाई जोगाउनका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्नुपर्ने बताए । मुलुकमा दिनदिनै भ्रष्टाचार संस्थागत हुँदै गएकोले मुलुक समृद्ध हुन नसकेको उनले बताए ।

सरकारको मुख्य नेतृत्व नै भ्रष्टाचारमा लागेकोले कुनै पनि सरकारी निकायबाट भ्रष्टाचारीलाई कारबाहीको अपेक्षा गर्नु भनेको “गोरुबाट दूध पाउने कल्पना गरे जस्तै हो” भएको टिप्पणी उनको छ ।

‘देशमा भ्रष्टाचार बढ्दै गएका कारण मुलुकमा विकास रोकिएको यथार्थ हामी सामु छ । नेपालको सम्पत्ति लुटेर दिन दहाडै विदेश लगिँदैछ । भ्रष्टाचारको काण्डै काण्डले देश बरबाद हुँदैछ । मुलुकको आर्थिक अवस्था संकटमा छ । सरकारी निकायले भ्रष्टाचारीको अगाडी निरीह छ, केही गर्न सकिरहेको छैन । भ्रष्टाचारीलाई राज्यकै संरक्षण छ’ आजपा अध्यक्ष साहले भने, ‘यस्तो अवस्थामा हामी चुप लागेर बस्न मिल्दैन । हामीले मुलुकलाई समृद्ध बनाउन, सुशासन कायम गर्नका लागि भ्रष्टाचारीलाई जहाँ देख्यो त्यही जनकारबाही गर्न आवश्यक छ ।’

गिरीबन्दु टी–स्टेट देखि लिएर ललिता निवास लगायतका ठाउँमा ठुला भनिएकाहरूकै संलग्नतामा भ्रष्टाचार भएको प्रमाणित भएको छ । तर त्यस्तालाई कारबाही गर्नुको साटो पुरस्कृत गर्ने अवस्थाको अन्त्य आवश्यक रहेको उनले बताए । सरकार, अख्तियार दुरुपयोग अनुसन्धानले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको बताउँदै साहले अहिले सरकारमै भ्रष्टहरूको बाहुल्यता भएको टिप्पणी गरे । उनले सबै भ्रष्टाचारीहरुलाई कारवाही कहिले हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न समेत गरेका छन् ।

‘अहिले हामी के देखिरहेका छौँ भने सरकारमै भ्रष्टाचारीहरूको बाहुल्यता रहेको छ । त्यही सरकारले सरुवा, बढुवा, नियुक्त गर्ने अख्तियार सहितका निकायले समेत भ्रष्टाचारीलाई कारबाही गर्न सकेको छैन’ आजपा अध्यक्ष साहले भने, ‘भ्रष्टाचार गर्नेहरूले संरक्षण पाइरहेका छन् । राज्यकै संरक्षणमा देश लुट्ने काम भइरहेको देखिन्छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा एउटा भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई नियुक्ति गरिरहेको छ । यस्तो अवस्थामा भ्रष्टाचार कसरी नियन्त्रण हुन्छ ?’

विदेश गइरहेका युवालाई नेपालमै रोजगार दिनुको साटो ती सोझासाझा युवाबाट लाखौँ रकम लिएर विदेश पठाउने काम सरकारी निकायबाटै भइरहेको आरोप लगाउँदै उनले स्वदेशमै रोजगारी दिनुपर्ने सरकार देशलाई उजाड बनाइरहेको बताए । राज्यकै संरक्षणमा मन्त्री, ठुला व्यापारीको संलग्नतामा हुन्डी कारोबार मार्फत अर्बौ रकम विदेश गइरहेको बताउँदै उनले त्यस्तो जघन्य अपराध गर्नेलाई सरकारले किन संरक्षण गरेको भन्दै प्रश्न गरे ।

काण्डैकाण्ड, भ्रष्टाचार, अनियमितता, कुशासनले आजित आम जनता यसको बिकल्प खोजिरहेको बताउँदै उनले भ्रष्टचार र भ्रष्टहरुका बिरुद्धमा जनकारवाही र सडक आन्दोलनको बिकल्प नभएको बताए ।

साथै उनले ऐतिहासिक शहर कलैयाको बिकासमा सरकारले ध्यान नदिएको गुनासो गरे । हुलाकी राजमार्ग अन्तरगतको पिलुवा–कलैया–मटिअर्वा सडक अन्तरगतको कलैयामा ३ किलोमिटर सडक कालोपत्रे कहिले हुने भन्दै प्रधानमन्त्रीसंग जवाफ माग गरे ।

यस क्षेत्रबाट प्रदेश र संघमा एमालेकै नेता बिजयी भएको र केन्द्रमा एमालेकैै अध्यक्ष ओली प्रधानमन्त्री भएको तर पनि कलैयाको सडक कालोपत्रे गर्नमा किन ढिलाई भएको भनेर जनता जान्न चाहेको बताए ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रसंग जोडिएको बीरगंज, कलैया, गढीमाई, सिम्रौनगढ हुदै पुर्वपश्चिम रहेको हुलाकी राजमार्गलाई कम्तीमा पनि छौं लेनको बनाउँन आवश्यक रहेको बताउँदै आजपा अध्यक्ष साहले जनस्तरबाटै बहिरा सरकारलाई दबाब दिनुपर्ने बताए ।

आम बिद्यार्थी मोर्चाका बारा अध्यक्ष कृष्ण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आजपाका बरिस्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष अशोक लामा, महासचिव त्रिभुवन साह, अशोक राई नेतृत्वको जसपाका नेता एंव संबिधान सभा सदस्य प्रमोद गुप्ता, जसपाकै नेता एंव मधेस प्रदेश सभाका पुर्व बिधायक पारस साह, नेकापा (माओबादी केन्द्र) कलैया नगरकमिटी अध्यक्ष मुकेश साह आजापा सचीव उमेश कुशवाहा, जनमत पार्टी बारा ईन्चार्ज शिवनाथ पटेल, आम महिला मोर्चाका अध्यक्ष कुमारी बबिता, आम विद्यार्थी मोर्चाका अध्यक्ष बिबेक साह आजपा नेताहरु बिजय यादव निर्बिज, श्रीनारायण पटेल, राजकिशो साह सहित विभिन्न पार्टीका नेताकार्यकर्ता सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।

The post भ्रष्टबिरुद्ध जनकारवाही र सडक आन्दोलनको बिकल्प छैन्: प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102320/