मधेश प्रदेशमा उपचुनाव रौतहट र महोत्तरीमा नेताको प्रतिष्ठा दाउमा, प्रचारमा तीव्रता
मधेश प्रदेशको ४ जिल्लाको ७ वटा वडामा अध्यक्ष पदका लागि उपचुनाव भइरहेको छ । चुनाव प्रचारमा नेताहरुले सम्पूर्ण ताकत लगाउन थालेका छन् ।
सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिकाको वडा नम्बर १ र ४ मा, धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर १ मा, महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ र रौतहट जिल्लाको राजपुर नगरपालिकाको वडा नम्बर ६, इशनाथ नगरपालिकाको वडा नम्बर ७ र गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा उपचुनाव भइरहेको छ ।
चुनाव प्रचारमा विभिन्न दलका केन्द्रीय पदाधिकारीहरु घरदैलोमा समेत उत्रेका छन् । वडाको चुनावमा दलका पदाधिकारीहरु घरदैलोमा सहभागी भएसंगै चुनावी चहलपहल बढेको छ ।
रौतहट जिल्लामा बिहीबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वडामा पार्टीको तर्फबाट घरदैलो चलाएका छन् । उनले इशनाथ नगरपालिकाको वडा नम्बर ७ मा घरदैलोमा सहभागि हुँदै नेपाली कांँग्रेसलाई मतदान गर्न आह्वान गरे । महामन्त्री शर्मासंगै कांग्रेस मधेश प्रदेशका सभापति एवं पूर्वमन्त्री कृष्णा यादवलगायतका नेता, प्रदेश मन्त्री लगायतको सहभागिता रहेको थियो ।
सो वडामा शेख अब्दुल खालिद काँग्रेसबाट उम्मेदवार छन् । तर त्यो भन्दा ठूलो चुनावी घमासान गढीमाई नगरपालिकाको वडा नम्बर ८ मा छ । वडा नम्बर ८ मा कांग्रेसका प्रदेश सभापति यादवको घर पनि रहेको छ । त्यहाँ काँग्रेसका सुबोध कुमार यादव उम्मेदवार छन् । जनता समाजवादी पार्टी( जसपा)नेपालबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपचुनाव हुन लागेको छ ।
मृतक वडाअध्यक्षकी पत्नी नेकपा एमालेबाट उम्मेदवारी दिएकी छन् । जसपा नेपालले सन्देश यादवलाई उम्मेदवार उठाएका छन् । कांग्रेसका सभापति यादवको गृह वडा भएकाले चुनावलाई उनको प्रतिष्ठासित जोडिएको छ । पूर्वमन्त्री समेत रहेका सभापति यादव मधेश प्रदेश संसदीय दलका नेतापनि हुन् । उनले वडाको चुनाव जित्न अत्यन्त सकृय भएका छन् । तर कांग्रेस पार्टीमै रहेका युवा नेता सन्देश यादवले अन्तिम समयमा जसपा नेपालबाट उम्मेदवारी दिएकाले सभापति यादवका लागि चुनौती बनेको छ ।
जसपा नेपालको जनाधार खस्किएको दावीगर्दै काँग्रेसका नेताहरुले चुनाव जित्ने ठोकुवा गरिरहेका छन् । नेकपा एमाले, नेकपा एस र नेकपा माओवादीले पनि उम्मेदवारी दिएका छन् । स्वर्गीय वडा अध्यक्षकी पत्नी जिउती देवी यादव एमालेबाट उम्मेदवार भएकीले सहानुभुति र पार्टीको मत पर्ने भएर उनी जित्ने तर्क गरिदै छ । केही दिन पूर्व जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोही वडामा पार्टी प्रवेश कार्यक्रम गरेका थिए । कांग्रेस सभापति यादवको वडा रहेका त्यो चुनाव प्रदेशमा सर्वाधिक चर्चामा रहेको छ ।
त्यसैगरि महोत्तरी जिल्लाको रामगोपालपुरको वडा नम्बर १ मा नेकपा एमालेका युवा नेता, मधेश प्रदेशमा भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवको प्रतिष्ठासित जोडिएको छ । सो वडामा नेकपा माओवादीबाट निर्वाचित वडा अध्यक्षको मृत्यु भएपछि उपचुनाव भइरहेको छ ।
मुसलमान बाहुल्यता रहेको सो वडामा माओवादीले मृतक अध्यक्षकी पत्नी आइती कुमारी यादवलाई उम्मेदवार बनाएको छ । एमालेले सकिबुल खानलाई उम्मेदवार बनाएको छ । कांग्रेसले मो.जानिफ खानलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले राजेश कुमार यादवलाई टिकट दिएको छ ।
वडाअध्यक्षको चुनावमा सबै पार्टीका उच्च पदस्थ नेताहरु मैदानमा छन् । मधेश प्रदेश र संघीय सरकारमा रहेको कांग्रेस र एमालेले अलग अलग उम्मेदवार उठाएका छन् । मधेश प्रदेशको सातवटै वडामा दलहरुबीच गठबन्धन भएको छैन । एमाले मधेश प्रदेश संसदीय दलका नेता समेत रहेका मन्त्री यादवको गृह वडामा उपचुनाव भएकाले उनको प्रतिष्ठासित परिणाम जोडिएको छ ।
चुनावमा एमालेका उम्मेदवारलाई जिताउन मन्त्री सहितका नेताहरु अहोरात्र खटिरहेका छन् । मंसिर १६ गते मतदान हुनेछ । थोरै स्थानमा चुनाव भएकाले अन्य जिल्लाका नेताहरु पनि वडामा केन्द्रित भएको देखिन्छ ।
The post मधेश प्रदेशमा उपचुनाव रौतहट र महोत्तरीमा नेताको प्रतिष्ठा दाउमा, प्रचारमा तीव्रता appeared first on Janakpur Today.