यो सरकार हामीले ढाल्नै पर्दैन, जनताले सडकमा घिसार्छन्ः प्रचण्ड

काठमाडौं । विपदमा परेका जनताको उद्धार, राहत र पुर्नस्थापनाको काममा भन्दा भ्रष्टाचारी, बिचौलिया र दलालहरुको संरक्षण गर्ने तथा सार्वजनिक संस्थानहरु कडौको मूल्यमा बेच्ने काम याे सरकारले अघि बढाए जनताले सडकमा घिसार्न सक्ने चेतावनी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका छन् ।

शनिबार पार्टीको उपत्यका विशेष र बागमती प्रदेशले राजधानीमा गरेको खबरदारी सभामा उनले शुक्रबार सत्तारुढ दलहरुका नेता बोलाएर प्रधानमन्त्री केपी ओलीले सडकबाट सरकारको विकल्प खोजिनु गलत भन्दै विज्ञप्ति जारी गराएको बताए । तत्काल सरकार ढाल्नेतिर आफूहरुको ध्यान नरहेको भन्दै उनले यो गठबन्धन आफैं कुहिएर झर्ने उनको भनाइ थियो ।

प्रचण्डले आफूहरुले गलहत्याउने नभनेकाले पूरै कार्यकाल सरकार चलाएर देखाउन चुनौती दिए । ‘हामीले तपार्इंहरुलाई अहिले नै गलहत्याउने भनेका छैनौं । तपाईंहरु आफैं कुहिएर झर्नुहुन्छ’, प्रचण्ण्डले भने, ‘माओवादीले फेरि काँग्रेस फकाउला, फेरि एमाले फकाउला भनेर चिन्ता नगर्नुस् ।’

तर, सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने उनले बताए । आफूहरुसँग संसदको विशेष अधिवेशन माग गर्न पुग्ने संख्या रहेकाले विशेष अधिवेशनका लागि प्रक्रिया अघि बढाइने जानकारी उनले दिए ।

‘हामीले बुझाएका ज्ञापनपत्रलाई बेवास्था गरेका विपदमा परेका जनताका लागि राहत, उद्धार र पुनस्र्थापनाको काममा ध्यान नदिएर भ्रष्टाचारी र बिचौलियालाई जोगाउने काम रोक्नुभएन भने, शिक्षामा र स्वास्थ्यमा हामीले सुरु गरेका ‘मेरिटोक्रेसी’ उल्ट्याउने काम गर्दै हुनुहुन्छ । लोडसेडिङको भयानक अन्धार युगबाट नेपालाई उज्यालोको युगमा माओवादी केन्द्रले ल्यायो । जनार्दन शर्मा ऊर्जामन्त्री र कुलमान घिसिङजस्तो योग्य व्यक्तिलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि लोडसेडिङ अन्त्य भयो । अहिले कुलमानलाई हटाउन खोज्नुभएको छ । यस्तो गर्नुभयो भने जनताले सडकमा घिसार्छन्’, उनले भने ।

सरकार ढाल्न नभई संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशी लोकतन्त्रको रक्षाका लागि खबरदारी सभा गर्दा सत्तापक्ष आतंकित भएर वक्तव्यबाजीमा उत्रिएको प्रचण्डले टिप्पणी गरे ।

‘सरकार आजै ढल्छ । भोलि ढल्छ भन्ने आतंक तपाईंहरुमा छ । खबरदार सरकार ढल्छ भन्ने पिरले भ्रष्टाचारीहरुको संरक्षणतिर नजानुहोला । संघीय लोकतानत्रिक गणतन्त्र र अहिलेको संविधान माअ‍ोवादी केन्द्रको बलिदानको जगमा बनेको हो । यसमा कतैबाट आघात नपुगोस् भनेर सबैभन्दा गम्भीर हामी छौं । हामीले भ्रष्टाचारको विरोध नगर्ने हो भने संघीय गणतन्त्र खतरामा पर्छ । प्रतिगामी र संघीय लोकतान्त्रिक गणतन्त्रविरोधीहरुले टाउको उठाउँछन् । तपाईंहरु माओवादी सडकबाट सरकार ढाल्न उद्धत भयो भनेर आतंकति नहुनुस् । हामी प्रधानमन्त्री र मन्त्री बनाइदिनुस भनेर तपाईंहरुकोमा आउँदैनौं’, उनले भने ।

प्रचण्डको स्पष्टीकरण- ज्ञानेन्द्रलाई भेटेको छैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्व राजा ज्ञानेन्द्र शाहलाई नभेटेको बताएका छन् । प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए ।

उनले भने- ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन  । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’

The post यो सरकार हामीले ढाल्नै पर्दैन, जनताले सडकमा घिसार्छन्ः प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102790/