रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु
काठमाडौँ।
सुदूर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध १९ (उन्नाइस) जना सञ्चारकर्मीहरूको सहभागितामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (डीसीओंपी) आजदेखि सुदूर पश्चिम पृतना हे.क्वा, तेघरी ब्यारेक, कैलालीमा सुरु भएको छ ।
उक्त कार्यक्रममा सुदूर पश्चिम पृतनाका चिफ अफ स्टाफ सहायक रथी किरण के.सी.ले विगत लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ८ (आठ) वटा एफ.एम. रेडियो स्टेसनहरुलाई प्रोत्साहन स्वरूप नगद तथा कदर पत्र प्रदान गरेका छन् ।
पाँच दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतीकरण तथा अन्तरक्रिया सञ्चालन गरिनेछ ।
सहभागीहरूलाई नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेका शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत अन्य महत्त्वपूर्ण संरचनाहरूको स्थलगत अध्ययन भ्रमण गराउने योजना रहेको छ ।