रघुजी पन्तको काउन्टर जवाफः २ करोड भोट ल्याएपनि भ्रष्टाचारमा अनुसन्धान हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएपछि सत्तारुढ दल नेकपा एमालेका सांसद रघुजी पन्तले काउन्टर जवाफ दिएका छन् ।

आज बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै भण्डारीले गत आम निर्वाचनमा १२ लाख मत ल्याएको र सदनको चौथो ठूलो दलको सभापति रवि लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक रहेका हुँदा यसलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने बताएकी थिईन् ।

उनले भनेकी थिईन् ‘रास्वपाले न्यायालयलाई प्रभावित गर्न खोजेको होइन । १२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य हो । रवि लामिछानेको मुद्दा अदालतमा पुगेको छैन । अहिले प्रहरीमा मात्र पुगेको हो । हामीले आन्दोलन गलत मनसायले गरेको हैन’ ।

सांसद भण्डारीले १२ लाख भोट ल्याएको दाबीगरेलगत्तै बोलेका एमाले सांसद पन्तले १२ लाख मात्र नभएर २ करोड नै भोट ल्याएपनि भ्रष्टाचारको मुद्दामा पक्राउ गर्न र छानबिन गर्न सकिने भन्दै काउन्टर जवाफ फर्काएका हुन् । ‘कसैले दुई करोड मत नै किन नल्याओस् रु कुनैपनि व्यक्तिलाई विना न्यायिक अनुमति थुनिराख्नु गैरन्यायिक कुरा हो ’ पन्तले भने । उनले न्यायपालिकाले अनुमति दिएर अनुसन्धान भइरहेको छ भने नाराजुलुस गर्नु नहुने बताए ।

सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने १२ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीबाट रकम लगेर गोर्खा मिडियामा खर्च गरेको उनीमाथि आरोप छ । यता रास्वपाका नेता तथा कार्यकर्ताले भने रविलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै सडक तताइरहेका छन् ।

 

Source : https://onlinetvnepal.com/2024/10/185400/