रातको समयमा युवकले महिलाको लाश बोकेर फाले तर पोस्मार्टम रिपोर्टमा हत्या नभएको पुष्टि
काठमाडौं– मंसीर ७ गते काठमाडौंको कालिमाटी सडकमा एक महिलाको शव भेटियो। पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीय महिलाको शवमा ट्राउजरसमेत खुल्लै रहेको थियो । जसकारण महिलाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको थियो । पछि अनुसन्धानका क्रममा उक्त शव उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेतीको रहेको खुलेको थियो ।
त्यसपछि घटनाको अनुसन्धानका क्रममा प्रहरीले सिसिटिभि फुटेज हेर्न थाल्यो । जसक्रममा प्रहरीले त्यस्तो भिडियो फेला पार्यो जहाँ एक युवकले महिलाको लाशलाई बोकिरहेका थिए ।
सिसिटिभिको समयअनुसार मंसीर ७ को बिहान ३ बजेतिर ती युवकले महिलाको शव फालेका थिए । त्यसपछि फुटेजमा देखिएको युवकको चप्पल, ट्राउजर र ज्याकेटको हुलियामा केन्द्रित भएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई पक्राउ गर्यो ।
मल्ल घटना भएको अघिल्लो दिन अर्थात् मंसीर ६ गतेमात्र प्रहरी हिरासतबाट छुटेका थिए । उनी चोरी आरोपमा पक्राउ परेर हिरासतमा पुगेका थिए । मल्लामाथी यसअघि ९ पटक पक्राउ परेर मुद्दा चलिसकेको थियो । पक्राउ परेपछि मल्लले आफैँले महिलालाई घिसारेर लगेको स्विकार गरेका छन् । उनले भनेका छन्, ‘म लागु औषध सेवनकर्ता हो । मैले बोकेर फालेको हुँ । के कसो भयो यहाँ भन्दा बढी मलाई थाहा छैन ।’
त्रिवि शिक्षण अस्पतालमा महिलाको शवको पोष्टमार्टमका लागि पठाइएको थियो । पोष्टपार्टमको रिपोर्ट अस्पतालले प्रहरीलाई पठाइसकेको छ । रिपोर्टमा सुर्खेतीको हत्या नभई कलेजो रोगबाट मृत्यु भएको उल्लेख रहेको प्रहरी स्रोतले जनाएको छ । उनका अनुसार कज अफ डेजमा लिभर डिजिज उल्लेख छ ।
महिलाको मृत्यु कलेजो रोगका कारण भएपनि युवकले लाश किन घिसारे भन्ने हालसम्म खुल्न सकेको छैन ।