विपन्न विद्यार्थीलाई पोसाक वितरण

उदयपुर । 

उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा रहेको नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्ने ३६ जना गरिब विपन्न परिवारका  विद्यार्थीहरूलाई शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रकृति प्रेमी समूह नामक संस्थाले स्कुल पोसाक वितरण गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई उदयपुरका प्रमुख तथा शिक्षा समन्वय एकाइ अधिकारी शशी कुमार यादवको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा विद्यालयका शिक्षक विद्यार्थी, पत्रकार, प्रकृति प्रेमी समूहका पदाधिकारी तथा सदस्यहरु, स्थानीय लगायतको उपस्थिति रहेको थियो । 

उक्त कार्यक्रममा पमुख अतिथि यादवले समाजमा शिक्षाको विकासकालागि प्रेरणा तथा प्रोत्साहनले महत्त्वपूर्ण भूमिका निभाउने भएकोले विद्यालय पोसाक तथा शैक्षिक सामाग्री लगायतका सामाग्री दिएर गरिब तथा विपन्न परिवारका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने बताए । 

नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले आफूले यसै विद्यालयबाट अध्ययन गरेर एस एलसी उत्तीर्ण गरेको र विद्यालयकालागि केही गरो भन्ने भावना बोकेर पूर्व विद्यार्थी समाज गठन गरेर सहयोग गर्ने काम गरिरहेको बताए ।

विद्यालयका प्रधानाध्यापक खड्ग बहादुर मगरको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रम प्रकृति प्रेमी समूह उदयपुर गाईघाटका अध्यक्ष तथा सफल व्यवसायी दिनेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

 उक्त पोसाक वितरण कार्यक्रममा प्रमुख अतिथि यादव, शिक्षा कार्यालयका अधिकृतहरु भवानी कट्टेल, अर्जुन कार्की, प्रकृतिप्रेमी समूहका पदाधिकारी तथा सदस्यहरु श्याम ढकाल, दीपक श्रेष्ठ, दिपेश श्रेष्ठ ,दीपक खनाल, मनोज कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष, पत्रकार माधव पोखरेल, देवराज राई, रौतामाई गाउँपालिका कार्यपालिका सदस्य दुर्गा बहादुर मगर लगायतले पोसाक वितरण गरेका थिए ।

Source : https://newsofnepal.com/2024/11/22/679524/