सत्ता बहिर्गमनको सय दिनमै सडकमा ‘प्रचण्ड’

काठमाडौं ।

संसद्मा सानो संख्या लिएर तेस्रो स्थानमा रहे पनि प्रायः सत्तामै रहँदै आएको नेकपा माओवादी केन्द्र सत्ताच्युत भएको सय दिनमै सडकमा ओर्लिएको छ। संसद्का प्रमुख २ दल कांग्रेस–एमालेसहितको नयाँ गठबन्धनको सरकार बनेपछि सत्ता बाहिर पुगेको माओवादी सय दिनमै सरकारको विरोधमा सडकमा उत्रिएको हो।

शनिवार काठमाडौंमा सरकारको खबरदारी सभा गरेको माओवादीले सरकारले खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने त्यसको मूल्य महँगो पर्ने चेतावनी दिएको छ। सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एव. माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो– ‘यो सरकार अप्राकृतिक संसर्गबाट बन्यो भनेर मैले संसद्मा भनेको थिएँ । सुशासनविरुद्ध, भ्रष्टाचारीलाई बचाउन, रातको १२ बजे दलालहरूको घरमा गएर बनेकोमा जे चिन्ता गरिएको थियो त्यसलाई सय दिनमा सरकारले आफैँले पुष्टि गरेको छ ।’

सरकार विरोधी आन्दोलनमा सडकमा पुगेको प्रमुख प्रतिपक्षी दल माओवादीले वर्तमान सरकारले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समेत बचाउ गरेको छ। अध्यक्ष दाहालले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने सन्दर्भको स्मरण गराउँदै भन्नुभयो– ‘रवि लामिछानेको कुरा चलिरहेको थियो । मैले तपाईं निर्दोष हुनुहुन्छ भने डराउनुपर्ने कारण के छ भनेको हो रवि लामिछानेलाई पनि । त्यहीअनुसार बनोस् भनेको हो । बन्न हुँदैन भन्ने केपी ओलीजी हो । रविलाई हरहालतमा बचाउनैपर्छ भन्ने केपी ओलीजी हो । सरकारले अहिले देखाएको रवैया आपत्तिजनक रहेको छ ।’

प्रचण्डले एमाले र कांग्रेससँग सम्बन्धित व्यक्तिलाई छानबिन नगर्ने, तर अहिले प्रतिपक्षलाई मात्रै पूर्वाग्रह राख्ने तयारी बेठीक भएको भन्दै सरकार पक्षलाई चेतावनी दिनुभयो । विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको जिकिर गर्नुभयो।

सभापति लामिछाने पक्राउ लगत्तै सडकमा आएको रास्वपाको आन्दोलनलाई सहयोग पुर्‍याउने र सरकारमाथि दबाब बढाउने रणनीतिमा माओवादी छ । गत निर्वाचनपछि पटकपटक कांग्रेस र एमालेसँग गठबन्धन परिवर्तन गर्दै सत्ताको भोग गरिरहेको माओवादीले सरकारबाट हटेसँगै नेताहरूमा छटपटाहट देखिएको छ।

उक्त छटपटीलाई पार्टी अध्यक्ष प्रचण्डले सार्वजनिक अभिव्यक्तिमार्फत् नै पुष्टि गरिसकेको सत्तापक्षका नेताहरूले टिप्पणी गरेका छन्। यद्यपि, प्रचण्डले भने माओवादी केन्द्रलाई बदनाम गर्ने षड्यन्त्रका रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोप लगाएको भन्दै खण्डन गर्नुभएको छ।

Source : https://newsofnepal.com/2024/10/27/675441/