सरकारको निरंकुशताबिरुद्ध हामी छिटै मोर्चा निर्माण गर्छौ: प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता विरुद्ध छिटै मोर्चा निर्माण गर्ने बताएका छन् ।

सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै आजपा अध्यक्ष साहले सरकारको आतंक एवं निरंकुशता बिरुद्ध मोर्चाको आवश्यक भएकाले आफू त्यसको गृहकार्यमा जुटेको बताए ।

‘स्थायित्व, विकास, सुशासन लगायतको क्षेत्रमा पूर्णरुपमा असफल भईसकेको सरकार राजीनामा दिनुपर्ने हो । तर जनताको आवाज दबाउन र विपक्षीलाई तर्साउन लागेका वर्तमान सरकार निरंकुशतातर्फ लागेकोले देशलाई बचाउन एकीकृत मोर्चाको आवश्यक्ता छ’ आजपा अध्यक्ष साहले भने ।

सरकार असफल भईसकेकाले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै उनले जनादेश विपरित संसदीय गणितको बलमा बनेको ओली सरकार छोटो समयमै गन्हाउन थालेको टिप्पणी गरेका छन् ।

‘संसदको सबैभन्दा पहिलो र दोस्रो ठुलो दल मिलेर लोकतन्त्रमा सरकार निर्माण हुदैन् । तर यहाँ लोकतन्त्रको मुल्यमान्यता एवं जनादेश विपरित नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार बनेको छ । के निर्वाचनमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँछौं भनेर जनतासंग मत मागेका थिए ? मतदातासंग एउटा प्रतिबद्धता गर्ने निर्वाचन सकेपछि अर्को मनलाग्दी गर्न मिल्छ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको गम्भिर आरोप उनले लगाए । सरकारले सत्तापक्षका ‘सहकारी ठग’हरुलाई बचाउने र संरक्षण गरेको आरोप लगाउदै उनले यस्तो कार्यको विरोध पनि गर्न नपाउने भन्ने कुराले सरकार ‘नाजीवादी’ सोचबाट ग्रस्त भएको टिप्पणी साहले गरेका छन् ।

‘यो सरकार राजवादी भन्दा पनि निरंकुशशैलीमा अगाडी बढेको छ । बच्चा रुदा रोएको हो भन्ने कुरा पनि गर्न नपाउँनु भन्ने सरकारको नाजीवादी सोच र चाहना समाजका लागि हानिकारक छ’ आजपा अध्यक्ष साहले भने, ‘सरकारले गौर हत्याकाण्ड जस्ता जघन्य अपराधीलाई संरक्षण गर्ने, उसंग साठगाठ गर्ने गरेको देखियो । सरकारको विरोध गरेपछि रबी लामिछानेलाई पक्राउँ गर्ने र सरकारको समर्थन गर्ने गम्भिर अपराधका अपराधीलाई छोड्ने कामलाई हामीले के भन्ने ?’ सरकारले सत्तापक्ष र प्रतिपक्षको आधारमा पक्षपातपूर्ण छानविन र अनुसन्धान गरेर निरंकुशशैलीमा अगाडी बढेको उनले बताए ।

सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञा दिदै आजपा अध्यक्ष साहले भने, ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ ।’

विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए । सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको सरकार जनताका बीचमा गन्हाइसकेको टिप्पणी उनले गरेका छन् ।

The post सरकारको निरंकुशताबिरुद्ध हामी छिटै मोर्चा निर्माण गर्छौ: प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102896/