सात वर्षमा वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न

लाइटिङ, सूचनाप्रविधि, सीसीटिभी जडान, सोकेस निर्माण कम्पनीबाटै
–पुरातत्व विभागका महानिर्देशक भन्नुहुन्छ : चीन सरकारले काम सकिसक्यो, हामीले अनुगमन गर्दै छौं

काठमाडौं ।

चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको हनुमानढोकास्थित वसन्तपुर दरबार पुनर्निर्माण सकिएको छ । यो महिनाको अन्तिममा उक्त दरबार खुला गर्ने तयारी छ। हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले पुनर्निर्माणको काम सम्पन्न भएर अनुगमन जारी भएको बताउनुभयो।

पुरातत्व विभागले विश्वसम्पदा शाखा प्रमुख रमेशराज पौडेलको संयोजकत्व पुरातत्वविद् पुरुषोत्तम डंगोल, हनुमानढोकाका पुरातत्वविद्लगायतको समितिले वसन्तपुर दरबारको निर्माणको अवस्थाबारे अनुगमन गरिरहेको छ। विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको प्रमुख आकर्षक सो दरबारवरपर घुम्न सक्ने गरी सबै संरचना हटाइसकेको छ। उक्त दरबारलाई नौतले दरबारको नामले समेत चिनिन्छ। हनुमानढोका कार्यालयले दरबार संरचनामा प्रवेश गर्नेबाहेकका सबै संरचना हटाइसकेको छ।

‘अब नोभेम्बर अन्त्यसम्म सबै काम सम्पन्न भएर सर्वसाधारणका लागि खुला गर्नेछौं’ –कार्यकारी निर्देशक खनालको भनाइ छ। उहाँका अनुसार सो दरबारको तल्लो तलामा भूकम्पअघिको दरबारको अवस्था र भूकम्पपछिको अवस्थाबारेमा तयार पारिएको डकुमेन्ट्री, नौतले दरबारलाई परिचय दिने सामग्री राखिने छ।

दोस्रोमा वीरेन्द्र संग्रहालय र तेस्रोमा महेन्द्र संग्रहालय रहने छ। दरबारको माथिल्लो तलामा भूकम्पबाट ध्वस्त भएका हनुमानढोका दरबारक्षेत्र परिसरका काम नलाग्ने टुँडाल, इँटालगायतका पुरातात्विक वस्तु प्रदर्शनीमा राखिने छ । विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले एक महिनाभित्र वसन्तपुर दरबार सर्वसाधारणका लागि खुला गरिने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘चिनियाँ कम्पनीले काम सम्पन्न गरिसकेको छ, हाम्रो समितिले अनुगमन गरेर प्रतिवेदन बुझाएपछि खुला गर्नेछौं।’ उहाँले अबको एक महिनाभित्र वसन्तपुर दरबार सर्वसाधारणका लागि खुला गरिने स्पष्ट पार्नुभयो । दरबार पुनर्निर्माणको समय नोभेम्बर २२ सम्म छ।

कम्पनीले पुनर्निर्माणबाहेक सोकेस र लाइटिङ जडानको काम सम्पन्न गरेको छ । दरबारको सम्पूर्ण सौन्दर्यीकरणसमेत चीन सरकारले गरेको हो । चीन सरकारको एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनको आर्थिक र प्राविधिक सहयोगमा २०७४ सालबाट सम्झौता गरी निर्माण शुरू भएको थियो ।

९ करोड ५० लाख युआन करिब २ अर्ब नेपाली रुपियाँमा निर्माण गर्ने सम्झौता गरेको हो । विद्युतीकरण, सोकेसलगायत सौन्दर्यीकरणको काम गर्नुपरेपछि सहयोग थपिएको छ । सम्झौतामा दरबार परिसरको ५ हजार ६ सय वर्गमिटर क्षेत्रको संरक्षण गर्न सम्झौता भएको थियो । तर, पछि काम थप गर्न आग्रह गरेका कारण सम्झौताअनुसार केही रकम थपिएको हो।

चीन र नेपाल सरकारबीच ३१ डिसेम्बर सन् २०१६ मा सम्झौता भएको थियो । २०७२ वैशाख १२ गते गएको भूकम्पले नौतले दरबारसँगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौं टावर ध्वस्त भएका थिए । ती सबै सम्पदाको पुनर्निर्माणको जिम्मा चीन सरकारले लिएको थियो । संग्रहालयभित्र डिस्प्ले, विद्युतीकरणदेखि लाइटिङ, सीसीटिभीलगायत उच्च प्रविधि जडान गरिदिएको हो।

निर्माण सम्पन्न भएर बिदा हुनुअघि नेपाल सरकारले चिनियाँ कम्पनीलाई परियोजना पुनर्निर्माण सम्पन्न भएको १० दिनभित्र प्रमाणपत्र दिनुपर्ने, पुनर्निर्माण शुरू भएपछि दुई वर्षसम्म चिनियाँ पक्षले अनुगमन गर्ने सम्झौतामा उल्लेख छ।

त्यस्तै, दुवै पक्षको सहमतिबेगर परियोजनासँग सम्बन्धित ड्रइङ, डिजाइन तेस्रो पक्षलाई दिन नपाइनेलगायतका विषयमा सम्झौता भएको थियो । यसअघि चीन सरकारको तर्फबाट नेपालमा दरबार हाइस्कुल पुनर्निर्माण सम्पन्न भइसकेको छ ।

Source : https://newsofnepal.com/2024/10/21/674418/