सिटिजन्स बैंकको नाफासँगै ईपिएस पनि घट्यो

काठमाडौँ । सिटिजन्स बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ५०.७५ प्रतिशतले घटेको हो ।

यस अवधिमा बैंकले कुल १९ करोड ८२ रुपैयाँ खुद नाफा कमाएको छ । जबकि बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ४० करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पहिलो त्रैमासमा बैंकको संचालन नाफा पनि घटेको छ । संचालन नाफा ५०.१७ प्रतिशतले घटेर २८ करोड २९ लाख ७१ हजार रुपैयाँ पुगेको छ । संचालन नाफा घट्दा सिटिजन्स बैंकको नाफा प्रभावित भएको हो ।

असोज मसान्तसम्म बैंकको खराब बढेर ५.४१६ प्रतिशत पुगेको छ । गत वर्षको सोहि अवधिमा बैंकको खराब कर्जा ३.९७ प्रतिशत रहेको थियो । यता, समिक्षा अवधिमा सिटिजन्स बैंकको खुद ब्याज आम्दानी भने ३.५६ प्रतिशतले बढेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसाले घटेर ५ रुपैयाँ ५८ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष प्रतिसेयर आदानी ११ रुपैयाँ ३४ पैसा (वार्षिक) रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १५३ रुपैयाँ ६२ पैसा छ ।

Source : https://arthasarokar.com/2024/10/citizens-bank-235.html