सुनको मुल्य एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो

काठमाडौं । सरकारले सुन आयातमा लाग्दै आएको २० प्रतिशतको भन्सार दर आधाले घटाएपछि नेपाली बजारमा छापावाल सुनको मुल्य एकैदिन प्रतितोला १५ हजार ९ सय रुपैयाँले घटेको छ । सरकारले १० प्रतिशत भन्सार दर घटाएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ ।

सुनको मुल्य अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । २० प्रतिशतको मापदण्डबाट आधा महशुल कमगरि सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोही अनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष अर्जुन रसायलीले यस्तो जानकारी गराएका हुन् । यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत गरिएको व्यवस्थालाई संसोधन गरि सरकारले सुन आयातको भन्सार दरलाई २० प्रतिशतबाट १० प्रतिशतमा झारेपछि भन्सार दर घटाइएको प्रभाव सोमबार नै नेपाली बजारमा परेको महासंघले जनाएको छ ।

यसदिन अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य केही घटेको छ । सरकारले सून चाँदी आयतमा लगाईएको भन्सार महशुल दर आधा घटाएपछि चाँदीको भाउ पनि प्रतितोला ९५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि चाँदीको मुल्य प्रतितोला १८ सय ४५ रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन आइतबार प्रतितोला १९ सय ६० रुपैयाँ थियो ।

सुन आयातमा मात्र नभएर विलासिताका बस्तुहरुको सूचिमा पर्ने चाँदीको आयातमा पनि भन्सार दर १५ बाट १० प्रतिशतमा झारिएको छ । छिमेकी देश भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले सुन–चाँदीको भन्सार दर घटाउने निर्णय भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले अहिले नेपालमा भन्दा भारतमा सुन सस्तो भएकाले सुनको अवैध आयात नियन्त्रणकालागि सरकारले भन्सार दर घटाईएको बताए ।

यसअघि सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को बजेटमार्फत १५ प्रतिशत कायम रहेको सुन आयातमा लाग्ने भन्सार दर ५ प्रतिशतले बढाएर २० प्रतिशतमा पु-याएको थियो ।

त्यसेबला नेपालमा भन्दा भारतमा सुनको मुल्य केही बढी नै थियो । त्यसपछि भारतमा त्यहाँको सरकारले पूर्ण बजेट सावैजनिक गर्दा सुनको भन्सार दर घटेको थियो । भारत सरकारले सार्वजनिक गरेको बजेटपछि भने नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । सोही कारण नेपाल बजारमा अवैध तथा तस्करीको सुन आएको आशंका गरिएको छ ।

जसका कारण अहिले भन्सार महशुल बुझाएर औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ । सुन चाँदीमा प्रतितोला यतिधेरै मुल्य घटेपछि मंसिर महिनाको बिबाहको मौसममा बिबाहकालागि सुनका गंहना बनाउने नेपाली उपभोक्ताहरुलाई भने केही राहत मिलेको महासंघले जनाएको छ ।

महासंघका अनुसार सरकारले भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकासहित अहिले भन्सार दर महसुल घटाएको हो । यस्तो अवस्थामा संभावित चोरी तस्करी बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखेर सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने निर्णय गरेको हो ।

यसैगरी, चाँदीको भन्सार महसुल दर पनि १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ । भन्सार महशुल दर घटेसँगै नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने बताईएको थियो । यसअघि सरकारले गत १५ जेठमा सार्जजनिक गरेको चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार महसुल दर ५ प्रतिशतले बढाएर १५ प्रतिशतबाट २० प्रतिशत पु-याएको थियो ।

चालु आवकालागि बजेट मार्फत नै बढाईएको सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झार्ने मन्त्रिपरिषद्को निर्णय आइतबार मात्र भन्सार विभागमा आइपुगेको भन्सार विभागले जानकारी दिएको छ ।

मन्त्रिपरिसाद्ले उपलब्ध गराएको नियार्यसँगै सुनको नयाँ भन्सार दर सोमबारदेखि नै कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने बेला गत १५ जेठमा अर्थमन्त्री वर्षमान पुन थिए । त्यसपछि नेपालमा भन्दा पछि भारतमा बजेट सार्वजनिक भएसँगै भारतमा सुनको भन्सार महसुल घटाइएको थियो । सोही कारण नेपालमा भन्दा भारतमा सुनको मूल्य सस्तो हुन पुगेको थियो ।

यसअघि केही दिनअघि मात्र एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली बजारमा सुन लगायतका वस्तुको तस्करी भइरहेको र मुलुकमा राजस्व कम उठिरहेको बताएका थिए । बजारमा सुनको तस्करी बढेको आशंकालाई सुनको आयात घटिरहेको भन्सार विभागको पछिल्लो तथ्यांकले समेत पुष्टि गरिदिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिना साउन देखि कात्तिक मसान्तसम्ममा सुनको आयात करिब १ सय ३२ केजीमा मात्र सीमित छ । गत आवको सोही अवधिमा एक हजार केजी सुन आयात भएको थियो ।

The post सुनको मुल्य एकैदिन प्रतितोला १५ हजार ९ सयले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104435/