एअर इन्डियाका विमानमा बम रहेको भन्दै हल्ला फैलाउने पुरुष पक्राउ

काठमाडौं– भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भारतको नागपुर प्रहरीले महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको नागपुर प्रहरीको स्पेशल ब्रान्चले बताएको छ ।

पक्राउ परेका जगदिशले २०२३ जुलाई ५ मा ‘आतंकवाद एक तुफानी राक्षस’ नामक किताब समेत लेखेका थिए । पुस्तकबारे व्याख्या गर्दै उनले यसमा आतंकवादलाई जरैदेखि सक्ने उपायबारे लेखेको बताएका थिए ।

उनी यसअघि पनि २०२१ मा पक्राउ परेका थिए । उनले किन बम रहेको भन्दै आतंक सिर्जना गरे भन्ने हालसम्म खुलेको छैन ।

प्रहरीका अनुसार, उनले प्रधानमन्त्री कार्यालय, रेलवे मन्त्रीको कार्यालय, महाराष्ट्रका मुख्यमन्त्री लगायतलाई पनि इमेल पठाएको भेटिएको छ ।

नेपालमा पनि सोमबार एयर इण्डियाको जहाजमा बम रहेको भन्दै सूचना आएपछि केही घन्टा विमानस्थल अस्तव्यस्त बनेको थियो । त्यसअघि भिस्टारा एयरवेजको विमानमा पनि बम रहेको हल्ला फैलिएको थियो ।

७ दिनअघि पनि दिल्लीबाट काठमाडौं आएको भारतीय वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखिएको भन्दै हल्ला फैलिएको थियो । तर, दुवैपटक शंकास्पद वस्तु फेला परेन ।

Source : https://onlinetvnepal.com/2024/10/185499/