औषधि उद्योगी जाटिया पक्राउ
पर्सा प्रहरीले वीरगञ्जका एक युवा उद्योगीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले औषधि उद्योगी प्रेमकुमार जाटियालाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतको आदेश अनुसार औषधि उद्योगी जाटियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीको टोलीले आइतबार दिउँसो वीरगञ्ज लिंकरोडबाट औषधि उद्योगी जाटियालाई पक्राउ गरिएको जनाएको छ । लिंकरोडमा रहेको युनिक फर्मास्युटिकल्स प्रालिको कार्यालयबाट प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।
एक दशकपूर्व वीरगञ्जको छपकैया स्थित श्रीराम कोलेनीमा माटो पुरेबापत आफूहरुलाई भुक्तानी नगरेको भन्दै ठेकेदार कम्पनी सत्यम् सप्लायर्सले जाटियाको विरुद्ध मुद्दा दायर गरेको थियो । आफूहरुले पाउनु पर्ने भुक्तानी पाँच लाख रुपैयाँ नदिएको कारण ठेकेदार कम्पनीका सञ्चालक सञ्जयकुमार श्रीवास्तव र संगीता कुमारीले दर्ता गरेको मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ वैशाख २ गते भुक्तानी भराउने आदेश दिएको थियो । तर उद्योगी जाटियाले जिल्ला अदालतको अदेशको नमाने पछि २०८१ कार्तिक २ गतेको फैसला अनुसार ६ महीना कैद र बिगो असुल गर्न भनेको छ । सोही अनुसार पर्सा प्रहरीले उद्योगी जाटियालाई पक्राउ गरेको छ ।
उद्योगी जाटियाको रियल स्टिल, मैग्नस फर्मास्युटिकल्स, श्रीराम कोलोनी, युनिक फर्मास्युटिकल्सलगायतका प्रतिष्ठान रहेको छ ।
The post औषधि उद्योगी जाटिया पक्राउ appeared first on Janakpur Today.