किन दिन प्रतिदिन बढिरहेको छ सुनको भाउ?
काठमाडौं– नेपाली समाजमा सुनलाई विवाहको लागि नभइ नहुने धातुको रुपमा हेरिँदै आएको छ । तर लामो समयदेखि सुनको मूल्य निरन्तर बढीरहँदा यसले विवाहलगायतका सामाजिक कार्य गर्नसमेत समस्या सिर्जना गरेको छ ।
२०७८ साल फागुन ७ गते सुनको मूल्यले नयाँ कीर्तिमानी रेकर्ड राख्दै प्रतितोला एक लाख भन्दा मूल्य कायम राखेको थियो । सो समयमा सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको थियो । ३३ महिनापछि हाल नेपाली बजारमा सुनको मूल्य एक लाख ६४ हजार रूपैयाँ पुगेको छ ।
विश्व बजारमा १ आउन्स सुन (२.४३ तोला) उत्पादन गर्न झण्डै १२०० अमेरिकी डलर लागत लाग्छ । त्यो सुनको करीब २६०० अमेरिकी डलरमा बेचिन्छ । जुन तोलाको हिसाबमा भन्दा १ तोला सुन उत्पादन गर्न करीब ६१ हजार रुपैयाँ खर्च लाग्छ भने करीब १ लाख ३२ हजार नेपाली रुपैयाँ पर्छ ।
तर नेपालमा भने विश्व बजारभन्दा महँगोमा सुन बिक्री हुने गरेको छ । सुन ल्याउँदा सुरक्षामा हुने खर्च, ढुवानी खर्च, बीमा खर्च, विभिन्न तहमा राखिने नाफा, कर कटाएर १ लाख ६४ हजार रुपैयाँ प्रतितोलामा सुनको कारोबार भइरहेको छ । अझ गहना किन्दा काटिले जर्ती र ज्यालाको शुल्क कटाउँदा त सुन झनै महँगो हुन पुग्ने गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा सुनको मुल्य बढ्दा सुनको मूल्य बढीरहेको छ । यसको प्रभाव पर्दै नेपालमा पनि सुनको मूल्य बढीरहेका छन् । पछिल्लोसमय उत्तर एसियाका देशहरुमा द्वन्द्व भइरहेका छन् । विश्वमा अशान्ति, राजनीतिक अस्थिरता बढ्दै जाँदा मानिसहरू लगानीको लागि घरजग्गा र सेयर भन्दा सुनमा भर पर्छन् । उनीहरुले अन्य सम्पत्ती बेचेर भएपनि सुनमा लगानी गर्न थाल्छन् । यहि कारणलृ सन् २०२२ को फेब्रुअरीमा रूस र युक्रेनको युद्धका कारण सुनको माग बढेपछि एकै महिनामा झण्डै ६ प्रतिशतले सुनको मूल्य बढेको थियो ।
बजारमा सुनको माग बढेपछि सुनको मूल्य पनि उल्लेखनीय रुपमा बढ्ने गरेका छन् । बजारमा ठूलो मात्रामा सुनको गहनाको माग बढ्दा यसको मूल्यपनि बढेका हुन् ।
तर सुनको माग र यसको उत्पादबीच भने ठूलो खाडल देखिएको छ । विश्व बजारमा सुनको माग भन्दा उत्पादन ३० प्रतिशत कम छ । विश्वका खानीमा पनि अब धेरै सुन बाँकी नरहेको बताइन्छ । खानीमा सुन सकिँदै गएपनि बजारमा भने यसको माग दिनप्रतिदिन बढ्दै जाँदा सुनको मूल्य आकासिएको विश्लेषकहरु बताउँछन् ।