कुकुरका कारण जोडिएको रतन टाटा र शांतनू सम्बन्ध

शान्तनू नायडूनामक युवा पछिल्लो समयमा भारतको व्यावसायिक क्षेत्रमा चर्चित छन्। उनी हालसालै दिवंगत भएका भारतका अग्रणी उद्योगपति रतन टाटासँगको घनिष्ट सम्बन्ध र टाटा ग्रुपमा उनले प्राप्त गरेको जिम्मेवारीका कारण चर्चामा आएका हुन्।

सन् १९९३ मा भारतको पुणेमा जन्मेका नायडूले सन् २०१४ मा मेकानिकल इन्जिनियरिङमा स्नातक र सन् २०१६ मा एमबीए गरेका हुन्। उनी हाल टाटा समूहमा डेपुटी जनरल म्यानेजरको रूपमा काम गरिरहेका छन्। त्यसअघि उनी रतन टाटाको व्यक्तिगत सहायकका साथै टाटाका धेरै व्यावसायिक र परोपकारी परियोजनामा पनि सहयोगी भूमिका निभाएका थिए। रतन टाटाले आफ्ना नाति उमेरका नायडूसँग सरसल्लाह पनि लिने गर्थे। विश्वप्रसिद्ध उद्योगपतिले किन र कसरी एउटा फुच्चे केटामाथि यति धेरै विश्वास गरे भन्ने कौतूहलता जगाएको थियो।

उनले रतन टाटा ट्रस्टलगायतका परोपकारी संस्थामा महत्वपूर्ण योगदान गरेका छन्। रतन टाटासँग नजिकको सम्बन्धले शांतनूलाई मार्गदर्शन मात्र गरेन, उनीसँग एक व्यक्तिगत सल्लाहकारको रूपमा काम गर्न पनि सक्षम बनायो।

उनका बुवा पनि टाटा समूहमा काम गर्थे, जसले गर्दा उनलाई सानैदेखि नै टाटा समूहको बारेमा जानकारी थियो। साथै उनले आफ्नो व्यावसायिक यात्रा पनि टाटा समूहबाटै डिजाइन इन्जिनियरका रूपमा शुरू गरेका थिए।

कुकुर प्रेमी शांतनू र रतन टाटाको सम्बन्ध पनि कुकुरकै कारण स्थापित भएको थियो। शांतनूले मुम्बर्इंका सडकमा बस्ने भुस्याह कुकुरलाई गाडीको ठक्करबाट जोगाउनका लागि रातमा देख्न सकिने पट्टा बनाएका थिए। साथीहरूसँग मिलेर सञ्चालन गरेको त्यो परियोजनाको धेरै चर्चा र माग भए पनि बीचमा रोकिएको थियो।

परियोजना रोकिएपछि आफ्ना बुवाको सल्लाहमा सान्तनुले उक्त अवधारणा रतन टाटालाई पत्र लेखेर जानकारी गराएका थिए।
पत्र पठाएको करिब दुई महिनापछि टाटाको मुम्बईंस्थित कार्यालयबाट खबर आएपछि दुवैको भेट भएको थियो। शांतनूको कामबाट टाटा धेरै प्रभावित भए। त्यसपछि उनीहरूबीच मित्रता शुरू भयो। साथै, सो परियोजनालाई टाटाले आर्थिक सहयोग पनि गरेका थिए।

एकदिन रतन टाटाले शांतनूलाई फोन गरी आफ्नो सहायक बन्न प्रस्ताव गरेका थिए। अप्रत्यासित रूपमा टाटाको उक्त प्रस्तावले उनलाई केहीबेर रनभुल्लमा पा¥यो। यद्यपि, टाटाको प्रस्ताव स्वीकार गरेर उनको सहायकका रूपमा काम गर्न तयार भए। अन्ततः कुकरका माध्यमबाट शुरू भएको उनीहरूको सम्बन्ध करिब आठ वर्षसम्म चल्यो।

Source : https://newsofnepal.com/2024/10/28/675734/