कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन
शर्मिला विश्वकर्मा
काठमाडौं । विभिन्न घटनामा परेर तथा रोग वा विपत्तिको कारण शरीरका अङ्गहरू गुमाएका व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि कृत्रिम तथा सहायक उपकरणको आवश्यकता हुने हुन्छ ।
यस्ता व्यक्तिहरूलाई पुनर्स्थापना गर्नका लागि राज्य स्तर तथा निजी संघ संस्थाहरूले काम गर्दै आएका छन् । यस्ता निजी संघसंस्थाहरू मध्ये कृतिम अंग तथा सहायक उपकरण सेवा समाज नेपाल पनि एक हो । यस संस्थाले सन् २००७ देखि विभिन्न कारणले शरीरका हात, खुट्टा गुमाएका तथा शरीरका अंगहरू कमजोर भएर सहज महसुस गरेका व्यक्तिहरूका लागि कृत्रिम अंग तथा सहायक सामाग्रीहरू निर्माण गरेर उपलब्ध गराउँदै आएको छ ।
यसै क्रममा आज कृत्रिम अंग तथा सहायक उपकरण सेवा समाज नेपालले यु.एस.आइ.डी र ह्यान्डिक्याप इन्टरनेशनलको सहकार्यमा काठमाडौँमा दोस्रो कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी सम्मेलन (Prosthetics Orthotics Conference 2024 )को आयोजना गरेको छ ।
सो कार्यशालाका प्रमुख अतिथि एवं स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र प्रसाद मरासिनीले कृत्रिम अङ्ग तथा सहायक उपकरणहरूको सेवा समुदायमा नै गर्नु पर्ने भन्दै यस्ता सेवालाई ग्रामीण क्षेत्रमा नै लैजानुपर्ने बताए ।
साथै उनले कृत्रिम सामग्री तथा सहायक उपकरण उत्पादनका साथै परामर्श सेवालाई पनि प्राथमिकता दिनुपर्ने, विद्यालयस्तर देखिका पाठ्यक्रमहरूमा यस्ता विषय वस्तुलाई समावेश गर्नका लागि वकालत तथा पैरवी गर्नुपर्ने र यो क्षेत्रमा काम गर्ने प्रिविधिकहरुलाई दरबन्दीका रूपमा परिचालन गर्नका लागि सबैले पहल गर्नु पर्ने कुरामा जोड दिँदै यस कार्यमा सरकाले सहज करण गर्ने बताए ।
त्यसै गरी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा.प्रशन्न नापितले Prosthetics Orthotics सेवा स्वास्थ्य भित्रपर्ने भएकोले स्वास्थ्य मन्त्रालयले यस विषयमा गम्भीर भएर काम गर्ने बताउँदै पुनर्स्थापना सेवा आवश्यक हुने व्यक्तिहरूको गमनशीलता तथा पहुँचमा आवश्यक कृतिम अङ्ग तथा सहायक सामग्रीहरू उपलब्ध गराउन राज्यले कदम चाल्नुपर्ने बताए ।
यसै क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका फिजियोथेरापिष्ट उपप्रमुख निष्ठा श्रेष्ठले नेपालको स्वास्थ्य प्रणालीमा पुनर्स्थापनाका सेवाहरू एकीकरणका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा २७.७ प्रतिशतलाई पुनर्स्थापना सेवा अन्तर्गत कृत्रिम अङ्ग तथा सहायक सामग्री आवश्यक भएको तर ९.७ प्रतिशतले मात्रै उक्त सेवा प्राप्त गरेको बताइन् । यस विषयमा राज्यले नीति नियमहरू बनाएको भएता पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको भन्दै आगामी दिनमा यस कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण हुने बताइन् ।
कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालले यु.एस.आइ.डी र ह्यान्डिक्याप इन्टरनेशनलको सहकार्यमा काठमाडौँमा आयोजना गरेको दोस्रो कृतिम अङ्ग तथा सहायक उपकरण सम्बन्धी कार्यशाला (Prosthetics Orthotics Conference 2024 ) मा ह्यान्डिक्याप इन्टरनेशनलका कार्यकारी सह-राष्ट्रिय निर्देशक मदनराज जोशीले प्राविधिक सहयोग राष्ट्रिय स्तरमा नै उपलब्ध हुनुपर्ने भन्दै कृत्रिम अङ्ग तथा सहायक उपकरण उत्पादन तथा करमा राज्यको ध्यान जानु पर्ने कुरामा जोड दिँदै ह्यान्डिक्याप इन्टरनेशनलले आवश्यक सहयोग गर्ने बताए ।
आयोजक संस्था कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवा समाज नेपालका अध्यक्ष शुकदेव पौडेलले अपाङ्गता भएका व्यक्तिहरू तथा पुनर्स्थापना सेवा आवश्यकता हुने व्यक्तिहरूलाई कृत्रिम अङ्ग वा सहायक सामाग्रीहरूको विषयमा जनचेतना जगाउने उद्देश्यले यो कार्यशालाको आयोजना गरिएको बताए। साथै उनले नेपालमा अङ्ग तथा सहायक उपकरण निर्माणका लागि दक्ष प्राविधिकहरूको संख्या न्यून रहेको हुनाले अबका दिनमा राज्यले Prosthetics and Orthotics Center को आवश्यकता रहेको भन्दै यस विषयमा राज्यले ध्यान दिनुपर्ने बताए ।
यस सम्मेलनमा अन्तर्राष्ट्रिय रूपमा १५ जना सरोकारवाला निकायका व्यक्तिहरूको प्रतिनिधित्व रहेको थियो भने नेपालका कृत्रिम अङ्ग तथा सहायक उपकरण निर्माणकर्ता, यसै विषयका पेसाकर्मीहरू, अपाङ्गता पुनर्स्थापनाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी निकायका १५० जनाको सहभागिता रहेको थियो ।
The post कृत्रिम अंग तथा सहायक उपकरण सम्बन्धी काठमाडौंमा दोस्रो सम्मेलन first appeared on Outline News Service.
Source : https://outlinekhabar.com/old/kritim/?utm_source=rss&utm_medium=rss&utm_campaign=kritim