तेल भिसा र अग्नीदहनसँगै रिलिज
काठमाडौं । शुक्रबारबाट नेपालका चलचित्र घरमा दुई नेपाली चलचित्र रिलिज हुने भएको छ । तीन साता अघिबाट प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारंगी र गत साताबाट प्रदर्शनमा आएको चलचित्र ह्रस्व दीर्घले हलमा राम्रो व्यापार गरिरहेका छन् । यसै क्रममा यी दुई नयाँ चलचित्र रिलिज हुँदैछन् । शँकर घिमिरेले निर्देशन गरेको चलचित्र तेल भिसा र घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्र अग्नीदहन शुक्रबारबाट चलचित्र घरमा प्रदर्शन हुन लागेका हुन् ।
नेपालीहरुको विदेशिने मोह र उनीहरु विदेशिँदा घरमा तथा परदेशमा बुबा आमाले भोग्नु परेको समस्यालाई चलचित्र तेल भिसामा समेटिएको छ । नेपाल र अमेरिकामा छायाँकन गरिएको यो चलिचत्र मुलुकका ८० भन्दा बढी चलचित्र घरमा रिलिज हुँदैछ । यो चलचित्रलाई शँकर घिमिरेले निर्देशन गरेका हुन् । तेल भिसाले चलचित्र घरहरुमा उच्च शो पाएको पनि निर्देशक घिमिरेले राजधानीलाई बताएका छन् ।
चलचित्र तेल भिसालाई शँकर घिमिरेसँगै उनकी पत्नी एवम् अभिनेत्री ऋचा घिमिरेले निर्माण गरेकी हुन् । अभिनेत्री ऋचा एक दशकपछि चलचित्र निर्माणसँगै अभिनयमा फर्किएकी हुन् । अमेरिकामा बस्दै आएकी यी दम्पत्तिले त्यहाँ रहेका नेपालीहरुका नेपालबाट गएका वुवा आमाले अमेरिका बसाईको क्रममा भोगेका समस्यालाई यो चलचित्रको मुख्य कथा बनाएका छन् । यो चलचित्रमा अभिनेता विपिन कार्कीको दोहोरो भूमिका रहेको पनि निर्देशक शँकरले बनाए । उनका अनुसार यसमा विपिनले वुवा र छोराको भूमिका निभाएका छन् ।
चलचित्रको आधा जसो छायाँकन अमेरिकामा र आधा नेपालमा गरिएको हो । यो चलचित्रको आलेख पनि शँकरकै हो । यसमा विपिनसँगै वर्षा राउत, ऋचा घिमिरे, बुद्धी तामाङ, पुजा चन्दलगायतको मुख्य भूमिका रहेको छ ।
अमेरिकामा रहेका कलाकारहरु दीलिप रायमाझी, शुशिल क्षत्री, अरुणिमा लम्साललगायतलाई पनि यो चलचित्रमा अतिथी भूमिका देख्न पाईने छ । तेल भिसालाई सुसन प्रजापतिले छायाँकन गरेका हुन् । जसमा अजय खड्का बन्टीको सम्पादन रहेको छ ।
यस्तै शुक्रबारबाटै रिलिज हुने अर्को चलचित्र अग्निदहनले मुलुकका करिब ५० वटा चलचित्र घर पाएको छ । यो चलचित्रलाई बुधबार साँझ काठमाडौंमा प्रिमियर गरियो । चलचित्रले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको छ । सन्देश प्रधान यो चलचित्र यस अघि च्यारिटी शो गरेर बल्ल चलचित्र घरमा प्रदर्शन गर्न लागिएको हो ।
बोक्सी हुँदैन भन्ने अवधारणमा आधारित रहेको यो चलचित्रको कथा तयार गरिएको यसका परिकल्पनाकार तथा निर्माता कोविदशरण उपाध्यायले बताएका छन् । यो चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
बोक्सीका नाममा महिलामाथि कुटपिट गर्ने, मलमुत्र खुवाउने, जिउँदै जलाउने, गाउँ निकाला गर्ने जस्ता जघन्य अपराध र कुप्रथा अझै मुलुकमा रहेकाले यसलाई हटाउन आफुले यो चलचित्र बनाएको निर्देशक लामिछानेले बताएका छन् ।
अग्निदहन उपन्यासबाट यो चलचित्र तयार गरिएको हो । यो चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङलगायतको अभिनय छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
The post तेल भिसा र अग्नीदहनसँगै रिलिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104219/