केन छिटो ५० गोल गर्ने खेलाडी

बर्लिन, (एजेन्सी) ।

ह्यारी केन जर्मन बुन्डेसलिगामा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् । घरेलु मैदानमा बायर्न म्युनिखले असबर्गलाई ३–० गोलअन्तरले पराजित गर्दा केनले ह्याट्रिक गरेका थिए ।

योसँगै उनी बुन्डेसलिगामा छिटो ५० गोल गर्ने खेलाडी बनेका हुन् । इंगल्यान्डको राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका केनले दुई गोल पेनाल्टीमा गरेका थिए । खेलको ६३ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका उनले इन्ज्युरी समयको तेस्रो मिनेटमा दोस्रो गोल पनि पेनाल्टीमा नै गरेका थिए ।

इन्ज्युरी समयको पाँचौं मिनेटमा अर्को गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । केनले बुन्डेसलिगाको ४३ खेलमा ५० गोल पूरा गरेका हुन् । उनले अर्लिङ हालान्डको नाममा रहेको कीर्तिमान तोडेका हुन् । हाल म्यानचेस्टर सिटीमा रहेका हालान्डले बोरुसिया डर्टमन्डबाट खेल्दा ५० खेलमा ५० गोल गरेका थिए ।


केनले गत सिजन लिगका ३२ खेलमा ३६ गोल गरेका थिए, जुन टोटनह्यामबाट अनुबन्धित भएपछि बायर्नमा उनको पहिलो सिजन थियो । सन् २०१२ पछि बायर्नले उपाधि जित्न असफल भएको पनि यो पहिलो सिजन थियो । उक्त सिजन बायर लेभरकुजेनले अपराजित रहँदैं बायर्नको विजयी यात्रामा विश्राम लगाएको थियो ।


यस सिजन लिगमा १४ गोल गर्नुका साथै केनले च्याम्पियन्स लिगमा पाँच र जर्मन कपमा एक गोल गरेका छन् । जारी सिजनमा अहिलेसम्म ११ खेलमा अपराजित रहने क्रममा ९ जित र दुई बराबरी खेलेको बायर्न २९ अंकसहित शीर्षस्थानमा छ । पराजित असबर्गको १२ अंक मात्र रहेको छ ।

Source : https://newsofnepal.com/2024/11/24/679707/