क्यानडाको घुम्ती शिविरबाट ४ सय नेपालीले राहदानी लिए

क्यानडाको टोरन्टो नगरमा सञ्चालन गरिएको घुम्ती शिविरबाट ४ सय नेपालीले राहदानी लिएका छन् । राजधानी ओटावास्थित नेपाली दूतावासले शिविर सञ्चालन गरेको हो ।

दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो । राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले टोरन्टोमा रहेका नेपाली प्रवासीलाई लक्ष्यित गरी शिविर सञ्चालन गरेको हो ।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार विगत एक वर्षमा ‘ग्रेटर टोरन्टो एरिया’मा यस्ता दुईवटा शिविर सञ्चालन गरेर प्रवासी नेपालीलाई सेवा दिएको थियो ।

ग्रेटर टोरन्टो एरियामा प्रवासी नेपालीका सङ्ख्या अधिक छ । त्यहाँ सञ्चालन भएको यो तेस्रो शिविर हो ।

यसअघि दूतावासले एडमन्टन, भ्यानकुभर, ह्यालिफ्याक्स र क्यालगरी सहरमा पनि यस्तै शिविरमार्फत सेवा प्रवाह गरेको थियो ।

Source : https://www.khasokhas.com/211752