चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसिर १७ गतेदेखि हुने आफ्नो औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन् ।
आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बीआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट गरे । ‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन । चीनसँग हाम्रो लामो र मित्रवत सम्बन्ध छ । दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वाेपरी प्राथमिकतामा राख्ने बताए । ‘यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ छैन,’ उनले भने, ‘विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।’
The post चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री appeared first on Samudrapari.