टोकियोमा थपियो अर्को इन्टरनेशनल स्कुल
टोकियो – जापानको राजधानी टोकियोकै केन्द्र भागमा पर्ने खामी-नाकाजातोमा अर्को एउटा नयाँ इन्टरनेशनल स्कुल खुलेको छ ।
जापानमा लामो समयदेखि कानून ब्यवसायमा संलग्न डा. बलराम श्रेष्ठको नेतृत्वको समुहले उक्त नयाँ स्कुल सञ्चालनमा ल्याउने भएको हो । करिव ७० जना नेपालीहरुको लगानीमा सञ्चालन हुन गईरहेको उक्त स्कुलको नाम एशियन ब्रिज इन्टरनेशनल स्कुल जापान रहेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्कुलका सञ्चालक समितिका अध्यक्ष डा. श्रेष्ठले जापानमा नेपालीहरुको संख्या बढ्दोक्रममा रहेको र सोही अनुपातमा स्कुल जाने उमेरका नानीबाबुहरुको संख्या पनि निरन्तर बढ्दोक्रममा रहेकोले उनीहरुका लागि पर्याप्त इन्टरनेशनल स्कुल नभएकोले उनीहरुलाई युगानुकुल गुणस्तरिय शिक्षा दिलाउने मुलभुत उद्देश्यकासाथ स्कुल सञ्चालन गर्न लागिएको बताए । डा. श्रेष्ठले लामो समयदेखि जापानमा बस्दै गर्दा जापानको शिक्षा प्रणालीबाट आफु असाध्यै प्रभावित भएको र सोहीअनुरुप आफुहरुले पनि अब्बल नागरिक उत्पादन गर्ने दृढ संकल्पकासाथ अर्को नयाँ स्कुलको अवधारणा अगाडि सारिएको बताए ।
स्कुलले तत्काल प्रि-प्राइमरी लेभलदेखि ग्रेड चारसम्मको पढाई सुरु गर्ने योजनाअनुरुप धमाधम भर्ना लिईरहेको पत्रकार भेटघाटमा जानकारी गराइएको छ । करि दुई वर्ष अगाडिदेखिको छलफल र तयारीपछि इन्टरनेशनल स्कुल सञ्चालन गर्ने निर्णयमा पुगेको डा. श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय सञ्चालक समितिको सदस्यहरुमा हाललाई दिनेश सिलवाल, दिनेश लोहनी, राजन पन्त, विगेन राजकर्णीकार र मनिराज सिलवाल रहेका छन् भने एक्याडेमिक डिरेक्टरको जिम्मेवारीमा दुर्गा पौड्याल रहेकीछिन् ।
कार्यक्रममा एनआरएन जापानका अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहारी, महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा लगायतले नयाँ खुल्न लागेको स्कुलको सफलताको शुभकामना मन्तब्य दिएका थिए ।
सन् २०१३ मा एभरेष्ट इन्टरनेशनल स्कुल जापान खुलेसंगै कालान्तरमा नागोयामा बाटिका इन्टरनेशनल स्कुल, टोकियोको कोइवामा हिमालयन इन्टरनेनल स्कुल, कामातामा होप इन्टरनेशनल स्कुल पछिको पाँचौं इन्टरनेशनल स्कुलकारुपमा एशियन ब्रिज इन्टरनेशनल स्कुल सञ्चालनमा आउन लागेको हो । यसैगरी एभरेष्ट इन्टरनेशनल स्कुलकै फ्राञ्चाइजकारुपमा आराकावामा पनि आउँदो शैक्षिक सत्रदेखि प्रि-प्राइमरी स्कुल सञ्चालन हुने भएको छ ।
जापानमा हुर्कदो नेपाली नानीबाबुहरुका लागि पर्याप्त इन्टरनेशनल स्कुल नभएको अवस्थामा यहाँ शैक्षिक संस्थाहरु खुल्नेक्रम बढ्नुलाई सुखद मान्न सकिन्छ । तथापि नेपाल सरकार र जापान सरकारको कडा मापदण्ड पूरा गरी तोकिएको पाठ्यक्रमअनुसार गुणस्तरिय शिक्षा दिलाउनु निकै चुनौती मानिन्छ ।***
The post टोकियोमा थपियो अर्को इन्टरनेशनल स्कुल appeared first on Samudrapari.