दुई गाउँपालिका जोड्ने बुवाँखोलामा मोटरेबल पुल निर्माण सुरु
खोटाङ । खोटाङको जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाबीचको आवागमनलाई सहज बनाउन बुवाँखोलामा मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार पुलको शिलान्यास गरेका हुन् ।
जन्तेढुङ्गा गाउँपालिका–१ देविस्थानस्थित मैनाटार र बराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने १४८ मिटर लामो यो पुल मूल्य अभिवृद्धि कर र पिएससहित रु १७ करोड ५८ लाख ७९ हजार ७२९ मा निर्माण हुनेछ । जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरले पुल निर्माणको जिम्मा लिएको छ । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले तोकिएको समयमै पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । “मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउनेछ । कुनै बहानामा पुल निर्माणमा ढिलाइ हुनु हुँदैन,” उनले भने ।
प्रादेशिक सडक पुल सहयोग एकाई, इटहरीको प्राविधिक सहयोगमा कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय उदयपुरमार्फत पुल निर्माण हुन लागेको जन्तेढुङ्गा गाउँपालिकाकी प्रमुख अरुणादेवी राईले बताईन् । निर्माण कम्पनीले २०८३ कात्तिक २१ गतेसम्म काम सम्पन्न गर्ने गरी २०८१ वैशाख ३० गते ठेक्का सम्झौता गरेको छ ।
पूर्वाधार विकास कार्यालय उदयपुरका अनुसार बुवाँखोलामा निर्माण हुने प्रि–स्ट्रेस्ड आरसिसि मोटरेबल पक्की पुलको ओपन फाउण्डेसन हुनेछ । शिलान्यास कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमी राजवंशी, जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख राई, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जरा लगायतको उपस्थिति थियो ।
दिक्तेल–खोटाङबजार हुँदै दक्षिणी क्षेत्र जोड्ने चिसापानी–देविस्थान–मैनाटार–पौवासेरा सडकखण्डमा पर्ने बुवाँखोलामा हालसम्म पक्की पुल नहुँदा वर्षायाममा भलबाढी आउँदा आवतजावत ठप्प हुने गरेको छ । पुल निर्माण सम्पन्न भएपछि दुई गाउँपालिकाबीचको यातायात सेवा वर्षभरि सुचारु हुने अपेक्षा गरिएको छ । स्थानीयवासीले लामो समयदेखि माग गर्दै आएको यो पुल निर्माणले क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।
The post दुई गाउँपालिका जोड्ने बुवाँखोलामा मोटरेबल पुल निर्माण सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104277/