टेम्पल ट्रि उत्कृष्ट करदाता, बुझायो २ करोड
पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ । कम्पनीले आव २०७९–०८० मा १ करोड ९७ लाख ७३ हजार ७ सय ८७ रूपैयाँ राजस्व दाखिला गरेको हो । यस्तै, करदाता सेवा कार्यालय, स्याङ्जाअन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्नेमा खिलुङ कालिका कन्ट्रक्सन प्रालि रहेको छ ।
‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवसलाई आन्तरिक राजस्व कार्यालय पोखराले १–७ मंसिरसम्म विविध कार्यक्रम गरी मनाएको छ । हप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार समापनमा कार्यालयले सबैभन्दा बढी दाखिला गर्ने करदातासहित विभिन्न व्यक्तिलाई सम्मान गरेको हो ।
कर सप्ताह कार्यक्रमअन्तर्गत मध्यमस्तरीय कर कार्यालय काठमाडौंले उद्योग व्यापार, लगानी प्रर्वद्धन र कर सचेतना सम्बन्धी विषयमा आयोजना गरेको खुला कविता प्रतियोगितामा दोस्रो हुने गण्डकी बोर्डिङ स्कुल कक्षा ११ की छात्रा आत्मिका सुवेदीलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियो ।
यस्तै, आन्तरिक राजस्व कार्यालय पोखराका उत्कृष्ट कर्मचारी नायब सब्बा हरिश्चन्द्र पौडेललाई सम्मान गरिएको छ भने करदाता सेवा कार्यालय पुतलीबजारका नायव सुव्वा देवश्री त्रिपाठीलाई सम्मान गरिएको थियो ।
हाल आन्तरिक राजस्व कार्यालय पोखरामा आयकरमा ६८ हजार १ सय ९६, मूल्य अभिबृद्धि करमा १२ हजार ४ सय २४, अन्तःशुल्कमा ४ हजार ५ सय १४ करदाता दर्ता भएका छन् । १ लाख ९० हजार ३ सय ९ करदाताले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् भने इटिडिएस गर्ने प्रयोजनार्थ ५ सय २५ कार्यालयले विथहोल्डी स्थायी लेखा नम्बर लिएका छन् । पोखरामा कुल ५९ लाख ५९ हजार ३० जना करदाता छन् ।
समारोहमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पर्यटन प्रर्वद्धनमा स्थानीय प्रशासनले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पोखरा पर्यटकीय क्षेत्र भएकाले यसको विकासमा निजिक्षेत्रसँग सहकार्य गर्ने समेत बताए ।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले सेवा प्रवाह थप सहज बनाउँदै करको दायरा विस्तार गर्दै लगिने बताए । उनले आर्थिक ऐन, २०८१ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागि अनुरोध गरे । छुट सुविधा सधैँ नआउने भएकले यहीँ फागुनभित्र सुविधा लिन आग्रह समेत गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्शलगायत व्यावसायिक संघ संगठनका प्रतिनिधिले आर्थिक अवस्था कमजोर रहेको अवस्थामा राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।
सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन १ मंसिरमा प्रभातफेरीसँगै विविध कार्यक्रम सुरु भएका हुन् । २ मंसिरमा पहिलो सेवाग्राही राधा खाजाघरका प्रोपाइटर यमबहादुर हमाललाई सम्मान गरियो । ३ मंसिरमा चेम्बर अफ कमर्श पोखरा, ४ गते लेखनाथ उद्योग वाणिज्य संघ र ५ गते पोखरा उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायी, पदाधिकारी तथा सदस्यबीच करशिक्षा तथा अन्तरक्रिया कार्यक्रम भयो । ६ मंसिरमा सहकारी संस्थाहरुका व्यवस्थापकहरुसँग कर शिक्षा तथा अन्तरक्रिया भयो ।
यस्तै, कार्यालयका कर्मचारीहरुबीच ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । कर कानून तथा कर छुटसम्बन्धी जानकारी सहितको कर पुस्तिका वितरण गरिएको छ । कास्कीका विभिन्न क्षेत्रहरूमा आर्थिक ऐन, २०८१ ले दिएका छुट सुविधा तथा अन्य करसम्बन्धी जानकारीमूलक सन्देश माइकिङ समेत गरिएको छ । आर्थिक ऐनले गरेका व्यवस्था र छुटसुविधाका विषयमा करदातालाई जानकारी गराउने गरी जनचेतना कार्यक्रम भएको प्रमुख कर अधिकृत शिव शर्माले बताए ।
आर्थिक ऐनले स्थायी लेखा नम्बर नलिई कारोबार गरिरहेका करदाताले स्थायी लेखा नम्बर लिएमा, आय विवरण बुझाउन बाँकी रहेका करदाताले आव २०७९–०८० सम्मको विवरण बुझाएमा र २०८० असारसम्मको बुझाउन बाँकी मूल्यअभि वृद्धि कर विवरण र सो वापतको कर र ब्याजको ५० प्रतिशतले हुने रकम बुझाएमा फागुन मसान्तसम्म छुट सुविधा दिने व्यवस्था गरेको छ ।
The post टेम्पल ट्रि उत्कृष्ट करदाता, बुझायो २ करोड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104271/