पार्टी कार्यालयमा पठाएको जरिवाना पत्र बुझ्न नमानेपछि बालेनले एमालेलाई पठाए ‘इमेल’
काठमाडौं– गत शुक्रबार दरबारमार्गमा एमालेले गरेको जागरण सभामा सडक र पेटीमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले सोही दिन एक लाख जरिवाना तोकेको छ ।
उक्त पत्र लिएर काठमाडौं महानगरपालिकाको टोली एमालेको केन्द्रीय कार्यालय पुगेको थियो । तर, एमालेले आफूहरुले कार्यक्रमको आयोना नगरेको र जिल्लाबाट आयोजना भएको भन्दै पत्र बुझ्न अस्विकार गरेको थियो । एमालेले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा जागरण सभा आयोजना गरेको हो ।
एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने तर्क गरेका थिए । बालेन एमालेको विरोधमा परिचालित नै भएको आरोप लगाएका थिए ।
एमालेले पत्र नबुझेपछि महानगरले जसरी भएपनि जरिवानाको पत्र बुझाउन कम्मर कसेको छ । एमालेलाई जरिवाना तोकेको पत्र महानगरले इमेल र हुलाकमार्फत सत्तारुढ दल नेकपा एमालेलाई पठाएको छ ।
पत्र बुझ्न नमानेपछि आइतबार नै पत्र पठाइएको महानगर स्रोतले बतायो ।
फोहोर गरेपनि त्यसको व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको महानगरले जनाएको छ ।