बिआरआई परियोजना असफल भएको दाबी

राष्ट्रिय एकता अभियानले आइतवार पत्रकार सम्मेलन गरी चिनियाँ राजदूत चेन सोङलाई फिर्ता गर्न सरकारसंग माग गरेको छ । राजदुत चेनले केही समयदेखि नेपालमा असफल भएको बिआरआईबारे भ्रामक कुरा फैलाउँदै हिडेकाले उनलाई फिर्ता गर्न सरकारसंग अभियानले माग गरेको छ ।

एकता अभियानले गरेको सो पत्रकार सम्मेलनमा चिनियाँ राजदुतले जेनेभा सन्धीको उलघंन गर्दै कुटनैतिक मार्यादा विपरीत मनोमानी रुपमा बोल्दै हिडेकोले नेपाल सरकारसंग उनको विरोधमा कुटनैतिक कदम चाल्न माग गरेको जनाएको छ । सो पत्रकार सम्मेलनमा अभियानका केन्द्रीय सदस्य शान्ति चौधरी, चन्द्र यदुवंशी, रामकुमार पासवान, उपत्यका संयोजक महेश्वरमान वैध लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सो अभियानले सूचना अधिकार (आरटीआई) ऐनअन्तर्गत बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी आधिकारिक जानकारी माग गरेको दाबी गरेको छ । नेपाल सरकारको अर्थ मन्त्रालयबाट प्राप्त जवाफ अनुसार नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको पुष्टि भएको छ । तर चिनियाँ राजदूत चेन सोङले सामाजिक सञ्जालमार्फत काठमाण्डु चक्रपथ दोस्रो चरण, हिल्सा– सिमिकोट सडक स्तरोन्नति, अरनिको राजमार्ग चौथो चरण, र मुस्ताङस्थित कोरला नाकामा अन्तरदेशीय चेक पोस्ट (आईसीपी) निर्माणलाई बीआरआई अन्तर्गतको परियोजना भनेर दाबी गरे ।

सो अभियानका सदस्यहरूको भनाइमा चिनियाँ राजदूतको यस्तो दाबीले नेपालको आन्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरेको छ । राष्ट्रिय एकता अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा चिनियाँ राजदूतलाई देशनिकाला गर्न समेत माग गरेको छ ।

The post बिआरआई परियोजना असफल भएको दाबी appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/28/100397/