भैरहवामा पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान
काठमाडौं – भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच एयरलाइन्सले नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । दोहाबाट कतार एयरवेज, बैंककबाट एयर एसिया, दुबईबाट फ्लाई दुबई, कुवेतबाट जजिरा तथा नेपाल एयरलाइन्सले अहिले भैरहवाबाट उडान सुरु गरेका हुन् ।
यति बेला यात्रुको स्वागत तथा बिदाइका लागि आएका आफन्त र सुरक्षाकर्मीको ओहोरदोहोरले विमानस्थल व्यस्त बनेको छ । फ्लाई दुबई र कतार एयरवेजका जहाज प्रत्येक दिन दिउँसो अवतरण गर्छन् । एयर एसिया, जजिरा र नेपाल एयरलाइन्सले पनि उडान गरेका छन् । विमानस्थलबाट नियमित उडान भइरहँदा रूपन्देही र आसपासमा आर्थिक गतिविधि बढ्ने विश्वासमा निजी क्षेत्र उत्साहित छ ।
विमानस्थल निर्माणसँगै पर्यटक बढ्ने विश्वासमा धेरै उद्योगी, व्यवसायीले होटल र रेस्टुरेन्टमा लगानी गरेका छन् । बुद्ध जयन्तीका अवसर पारेर २०७९ जेठ २ मा विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल उद्घाटनसँगै कुवेतको जजिरा एयरवेजले अन्तर्राष्ट्रिय उडान थालेको थियो ।
The post भैरहवामा पाँच एयरलाइन्सको नियमित अन्तर्राष्ट्रिय उडान appeared first on Samudrapari.