मस्तिष्क मृत्युपछि अङ्ग उपलब्ध गराउने परिवारलाई सरकारले दुई लाख रुपैयाँ सहयोग गर्ने
काठमाडौँ।
सरकारले मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग प्रत्यारोपणका लागि उपलब्ध गराउने परिवारलाई अब दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । यसअघि मृत्युपछि अंगदान गर्ने परिवारलाई भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले किरिया खर्च भन्दै त्यस्ता परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रत्यारोपण केन्द्रले दिने गरेको एक लाख रुपैयाँमा मन्त्रालयबाट पनि एक लाख रुपैयाँ थपेर दिने निर्णय गरेका हुन्। मन्त्रालयले यो पैसा आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी अर्थ मन्त्रालयबाट स्वीकृति लिएको बताइएको छ । मन्त्रालयको आन्तरिक श्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको मन्त्री पौडेलले बताए।
यस्तै मस्तिष्क मृत्यु अंगदानका लागि सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजारलाई बढाएर ७५ हजार पुर्याइएको छ । केन्द्रले पहिले ५० हजार दिँदै आएको थियो । मन्त्रीले त्यसमा मन्त्रालयले थप २५ हजार रुपैयाँ थपेर ७५ हजार रुपैयाँ पुर्याउने भएको छ ।
आफ्नो मृत्युपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजेका हौं, मन्त्री पौडेलले भने, ‘एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं ।’
मन्त्री पौडेलले मृत्युपछि स्वेच्छिक अंगदान गर्ने घोषणा गरिसक्नुभएकोछ । देशभर हरेक वर्ष मिर्गौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाई सकेका छन् ।
विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मस्तिष्क मृत्युपश्चात् दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मस्तिष्क मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरु जीवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।
हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मिर्गौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ । यो कुल अंग प्रत्यारोपणको झन्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आइरहेका छन् ।
हाल सचेतना अभावमा दान गर्न चाहनेको संख्या न्यून छ । मृत्युपश्चात् हुने दान बढाउन सकिए धेरैको ज्यान जोगाउन सकिने शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउछन् । यस प्रोत्साहनमूलक निर्णयले दाता बढेर धेरैको ज्यान जोगाउन सकिने उनको अपेक्षा छ । दाताको संख्या दोब्बर हुने आशा गरेका छौं, श्रेष्ठले भने ।
हाल एक हजार बढी मिर्गौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतीक्षामा छन् । र, उनीहरुले मृत्युपश्चात् हुने दानमा अधिक निर्भर गर्नु परिरहेको छ । मृत्युपछि आठ वटा अंग प्रत्यारोपणका लागि झिक्न सकिने भएपनि नेपालमा मिर्गौला र कलेजो मात्रै प्रत्यारोपण हुने गरेको छ ।