मिनबहादुर गुरुङबाट जग्गा दान लिनु गलत भन्दै सामाजिक सञ्जालमा लेख्ने एमाले सांसद निलम्बनमा
बुटवल– नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी निलम्बनमा परेका छन् । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले मंगलबार निलम्बन गरेको हो ।
पार्टीलाई हानिनोक्सानी पुर्याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै एमाले पार्टी सदस्यबाट निलम्बन गरेको जनाएको छ ।
यता पूर्वमन्त्री समेत रहेका चौधरीले भने एमालेको विवादास्पत पार्टीको कार्यालय निर्माणका लागि दानमा जग्गा लिएको विषयको विरोधमा बोलेको कारण पार्टीले निलम्बनको प्रचार गरेको आरोप लगाएका छन् ।
भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले एमालेलाई केन्द्रीय कार्यालय बनाउन दानमा जग्गा दिँदै कार्यालयसमेत आफैले दिने घोषणा गरेका थिए । यस विषयमा सर्वोच्च अदालतमा पनि रिट दायर छ । जसको सुनुवाईको लागि बारम्बार पेशी चढेपछि सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ मा उक्त रिट पर्दै आएको छ ।
सांसद चौधरीले मिनबहादुर गुरुङबाट जग्गा दान लिनु गलत भन्दै सामाजिक सन्जालमा लेखेका थिए । त्यसवाफत् जिल्ला कमिटीले स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो भएन भन्दै निलम्बनको निर्णयसहितको पत्र सार्वजनिक गरेको उनले बताएका छन् । जिल्ला कमिटीले प्रदेश कमिटीलाई निलम्बन गर्ने अधिकार नभएको भन्दै उक्त निलम्बन प्रकियताअनुसार नभएको उनले बताएका छन् ।
भ्याट छली प्रकरणमा दोषी प्रमाणित भएका र ललिता निवास जग्गा प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहेका गुरुङबाट जग्गा दान लिने कुरा एक सचेत नागरिक र कम्युनिष्ट पार्टीको सदस्यका नाताले गलत लागेर सामाजिक सञ्जालमा लेखेको चौधरीले बताए । पार्टीको हितको विषयमा बोल्दापनि कुरा नसुनी उल्टै कारबाही गरिएको भन्दै उनले एमालेलाई जनताले नै सुधार्न पर्ने भएको बताएका छन् । तर जनताले सुधार्न परेमा पार्टीलाई निकै महँगो हुनजाने उनको भनाई छ ।
बाँके–१ (ख) निर्वाचित भएका सांसद चौधरी लुम्बिनीका पूर्वमन्त्री समेत हुन् । उनी पहिले मओवादी नेता भएपनि एमाले र माओवादी मिलेर नेकपा बनेपछि भएको विभाजनमा उनी एमालेमै बसेका थिए । चौधरी यसअघि प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न बुटवलमा भएको प्रदेश अधिवेशनमा भने उपसचिव पदमा उनी पराजित भएका थिए । त्यसयता उनी एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको चर्को आलोचना गर्दै आएका छन् ।